STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

दैलेख र पाल्पामा पेट्रोलिमय पदार्थको उत्खनन हुँदै

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ ८, आइतबार

सरकारले दैलेख र पाल्पामा पेट्रोलियम पदार्थको उत्खननको प्रक्रिया शुरु गर्न लागेको छ । ती क्षेत्रमा रहेको पेट्रोलिमय पदार्थ उत्खननका लागि चिनियाँ प्राविधिकसमेत आइसकेका छन् । पहिलो चरणमा चिनियाँ प्राविधिकले प्राविधिक तयारी गर्ने छन् । प्रतिनिधिसभाको आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले एक साताभित्रै पेट्रोलिमय पदार्थको उत्खननका लागि प्रक्रिया शुरु हुने जानकारी दिनुभयो । नेपाल र चीन सरकारबीच भएको सहमतिका आधारमा चिनियाँ प्राविधिक यहाँ आएका छन् । विनियोजन विधेयक, २०७६ अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका विभिन्न शीर्षक माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले देशभित्रै पेट्रोलियम पदार्थको उत्खननको प्रक्रिया शुरु हुन लागेको जानकारी दिनुभयो । यस्तै सरकारले नवलपरासीको धौवादीमा रहेको फलामखानीको उत्खननको प्रक्रियासमेत अगाडि बढाएको उहाँले जानकारी दिनुभयो । उहाँले उपलब्ध साधनस्रोतको उपयोग गरी बजार अनुगमन गरिएको, गुणस्तरीय वस्तु उपभोक्तालाई उपलब्ध गराउन निरन्तर अनुगमन जारी रहेको बताउनुभयो । गत जेठ मसान्तसम्म एक हजार ५४५ वटा फर्मको अनुगमन गरिएको उल्लेख गर्दै मन्त्री यादवले १४५ फर्मलाई जरिवाना गरिएको जानकारी दिनुभयो । उहाँले एक फर्मको अनुमतिपत्र खारेज गरिएको र छ वटा फर्मलाई कारवाहीका लागि सम्बन्धित निकायलाई पठाइएको र तीन वटालाई मुद्दा चलाइएको उल्लेख गर्नुभयो । यस्तै गुणस्तर तथा नापतौल विभागबाट १४५ वटा गुणस्तर चिह्न प्राप्त गरेका फर्म र अन्य १६९ फर्मको अनुमगन गरिएको छ । अनुगमनका क्रममा कूल ११ प्रकारका सामग्रीको बिक्री रोक्का गरिएको र १३ वटाको गुणस्तर चिह्न स्थगन गरिएको मन्त्री यादवले बताउनुभयो । यस्तै उपभोक्ता ठगी गर्ने २१ वटा पेट्रोलपम्पलाई कारवाही गरिएको मन्त्री यादवको भनाइ छ । निजी क्षेत्रलाई पनि पेट्रोलियम पदार्थको आयात र बिक्रीका लागि सरकारले सहजीकरण गर्न लागेको र अध्ययन समिति गठन गरिएको जानकारी दिँदै मन्त्री यादवले थप पेट्रोलपम्प खोल्नका लागि सूचना आह्वान गरिएको र यही असार १३ गतेसम्म आवेदनको समयावधि रहेको बताउनुभयो । उद्योग मन्त्रालय अर्थ मन्त्रालयको महाशाखा हुनै सक्दैन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अर्थ मन्त्रालयको महाशाखा जस्तो भयो भन्ने सन्दर्भमा मन्त्री यादवले व्यवहारतः त्यस्तो नभएको प्रष्टीकरण दिनुभयो । उहाँले भन्नुभयो, “उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अर्थ मन्त्रालयको महाशाखा हुनै सक्दैन । विगतमा भोगेका साथीहरुलाई त्यस्तो लागेको होला । तर अहिले एकअर्को मन्त्रालयसँग तालमेल गरेर एकताबद्ध भई काम गरिरहेका छौँ ।”
Categorized in राष्ट्रिय