दोहरी गायिका जेरीको कथा वाचन गर्ने महायज्ञ शुरु
Janjati Khabar | २०८१ माघ २३, बुधबार
गायिकाको रुपमा ख्याति कमाएकी बबिता बानियाँ ‘जेरी’ले कथा वाचन गर्ने श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ मङ्गलबारबाट सुरु भएको छ । यद्यपि उनले कथा वाचन गर्न लागेको विषयमा सरोकारवालाले पक्ष विपक्षमा टीकाटिप्पणी गरिरहेका छन् । यस विषयमा जेरीले लोकदोहोरी क्षेत्रमा संघर्ष गरेर आफू चिनिन पनि सफल भएको र अहिले फरक क्षेत्रमा आएकाले आम मानिसमा चासो र बहस हुनु स्वाभाविक भएको बताइन् ।
उनले आफूले कुनै अनुष्ठान गर्न नलागेको उनले बताइन् । ‘किनभने सहभागी महायज्ञमा अनुष्ठानमा चाहिँ वैदिक ब्राह्मणहरू छन् । वाचन र संगीतमय कथा प्रवचनको पाटो मेरो हो ।’
उनले आफ्नो विरोध गर्नेहरूले कमजोरी औँल्याइएको भन्दै त्यसलाई सुधारेर अघि बढ्ने र कार्यक्रम सफल बनाएकै छाड्ने बताइन् ।
राजधानीको नागार्जुन नगरपालिका १ रानीवनस्थित महादेव मन्दिर परिसरमा जेरीको वाचन हुने महायज्ञ मंगलबारदेखि सुरु भएको हो । पहिलो दिन कलश यात्राका साथै औपचारिक कार्यक्रम भएको जेरीले बताइन् । कथा बाचनको संगीतमय प्रवचन बुधबारदेखि सुरु हुने जेरीले बताइन् । ‘यो अवधिभर वाचन मैलेमात्र गर्छु । बेलाबेला अतिथि गुरुहरु पनि आउनुहुन्छ’, उनले भनिन् । जेरीले आफूलाई कथा बाचकको रुपमा योगमाया सखीको रुपमा चिनाउन खोजेकी छन् । वैदिक सनातन धर्मको सम्वद्र्धन तथा नागभुषण महादेव मन्दिर परिसरको सर्वाङ्गीण भौतिक विकासका लागि महायज्ञ गरिएको आयोजकको भनाइ छ ।
श्री नागभूषण मन्दिर संरक्षण तथा सामुदायिक संस्था तथा श्रीमद्भागवत सेवा कुञ्ज नेपाल आयोजक रहेको उक्त सप्ताह माघ ३० गतेसम्म जारी रहने सांस्कृतिक संयोजक बालचन्द्र बरालले जानकारी दिए ।
महायज्ञमा ५ हजारदेखि माथिका दाताहरूको नाम, २५ हजार भन्दा माथिका दाताहरूको सम्पत्तिको नाम र ५० हजारभन्दा माथिका दाताहरूको तीन पुस्तेको नामसहित मन्दिरमा अभिलेखीकरण गरिने आयोजकको भनाइ छ ।
जोरीले करिब डेढ दशकको दोहोरी गायक यात्राका क्रममा निकै चर्चा कमाएकी थिइन् । अहिले भने उनी अध्यात्मतिर ढल्किएकी हुन् । भागवतको दशकसम्म स्वअध्ययन र डेढ वर्ष नेपाल र भारतमा समेत अध्ययन गरेपछि आफू पहिलो पटक कथा वाचनमा जुटेको उनको भनाइ छ ।
Categorized in राष्ट्रिय

