नक्कली प्रमाणपत्र प्रकरण : पक्राउ परेका सांसदलाई थुनामुक्त गर्न अदालतको आदेश
Janjati Khabar – Janjati Khabar | २०८० श्रावण २६, शुक्रबार
काठमाडौं- नक्कली प्रमाणपत्र प्रकरणमा बिहीबार पक्राउ परेका नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई थुनामुक्त गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।
थुनामा राख्नका लागि शुक्रबार म्याद लिन पुगेको सरकारी वकिललाई अदालतका न्यायधीश दन्डपाणी शर्माकाे इजलाशले शर्मालाई थुनामा राख्न नपर्ने आदेश दिएकाे हाे । अदालतले थुना बाहिर राखेर नै शर्मालाई अनुसन्धान गर्न पनि आदेश दिएको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले बिहीबार शर्मासहित पाँच जना चिकित्सकलाई पक्राउ गरेको थियो ।
सांसद सुनिल शर्मालाई पक्राउ गर्नु आपत्तिजनक : कांग्रेस
सत्तारुढ प्रमुख घटक नेपाली कांगे्रसले पार्टीका सांसद सुनिल शर्मालाई पक्राउ गरेकोमा आपत्ति जनाएको छ ।
शुक्रवार नयाँबानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बसेको पार्टी संसदीय दलको बैठकले सो घटनाबारे प्रारम्भिक टिप्पणी गरेको हो । बैठकमा सांसदहरुले सो घटनालाई आपत्तिजनक, अप्रत्याशित र गम्भिरतापूर्वक लिएको पार्टी संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । काँग्रेसले सो घटनाबारे पार्टीको आधिकारिक धारणा तय गर्न साउन २८ गते आइतबार साँढे १२ बजे पुनः संसदीय दलको बैठक बोलाएको छ ।
आज सांसदहरुले सो घटनाबारे आ–आफनो धारणा राख्नुभएको र आइतबार पुनः बस्ने बैठकले त्यस सम्बन्धमा आधिकारिक निर्णय लिने पनि प्रमुख सचेतक लेखकले बताए । उनले भने, ‘मुलतः आज हामीले पाँच वटा निर्णय गरेका छौं । नेपाली काँग्रेस संसदीय दलको बैठक आज स्थगित भएको छ । पर्सी साढे १२ बजे पुनः यसै स्थानमा हामी बैठक बस्छौं । एउटा पछिल्लो समयमा अविरल वर्षका कारण देशभर बाढी, पहिरो र डुबानको समस्या भएको छ । दोस्रो निर्णय, देशव्यापी रुपमा लम्पी स्किन फैलिएको छ । यसले हजारौं पशुचौपायहरुको मृत्यु भएको छ । लाखौं रोगग्रस्त भएका छन । र, किसानलाई ठूलो मर्का भएको छ । अर्को, तराई मधेसका जिल्लाहरुमा अहिले अल्पवृष्टि भएका कारणले र वर्षात नभएका कारणले रोपाईं हुन नसकेको अथवा कम रोपाईं भएको स्थिति छ । धानको कम खेती लगाउने काम भएको छ । र, भूमिगत जलको सतह घटेको हुनाले खानेपानीको पनि समस्या भएको हुनाले यसमा खानेपानीको व्यवस्था गर्न र किसानहरुलाई जुन पीडा भएको छ । यसबारे उचित ध्यान दिन हामीले सरकारलाई आग्रह गरेका छौं ।’
पाँचौँ विषयमा कांग्रेस सांसद सुनिल शर्मा पक्राउ आपत्तिजनक, अनुचित र गम्भीर रहेको बैठकको निष्कर्ष रहेको उनले बताए । उनले भने, ‘पाँचौंमा हामीले आजको बैठकमा माननीय नेपाली काँग्रेसका नेता पनि, मोरङ जिल्लाबाट निर्वाचित सांसद माननीय सुनिल शर्माजीलाई पक्राउ गरिएको अवस्था छ । त्यो पक्राउ गरिएको विषयलाई लिएर आजको संसदीय दलको बैठकमा माननीयजीहरुले गम्भिरतापूर्वक विचारहरु राख्नुभएको छ । यो पक्राउ आपत्तिजनक हो । यो पत्र अप्रत्याशित छ । र, यो पक्राउ अनुचित छ भन्दै यो विषय अत्यन्तै गम्भीर छ भनेर आफ्ना धारणाहरु राख्नुभएको छ । र, यी धारणाहरुलाई बैठकले, नेताहरुले गम्भिरतापूर्वक सुनेको छ । लिएको छ । र, पर्सी हामी फेरि बैठक बस्छौं । र, त्यसमा पनि यी विषयहरु प्रश्तुत हुने नै छन् ।’
Categorized in राजनीति

