STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नयाँ पुस्ताका आलुको बीउ उत्पादन

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र ११, सोमबार

पाँचखालस्थित मसला बाली विकास केन्द्रले विभिन्न जातका आलुको बीउ उत्पादन गरिरहेको छ । वर्षौंदेखि एउटै जात पुस्तान्तरण गरी आलुखेती गर्दा कम उत्पादन हुने भएपछि नयाँ पुस्ताका बीउ उत्पादन गरिएको केन्द्रप्रमुख युवराज पाण्डेले बताउनुभयो । उहाँले केन्द्रमा आलुको पूर्व मूलबीउ र मूल बीउ उत्पादन गरिरहेको जानकारी दिनुभयो । आलुको बीउ उत्पादनका लागि कुनै प्रकारका किरा छिर्न नसक्ने दुईवटा ‘स्क्रिन हाउस’भित्र ल्याबमा टिस्यु कल्चर गरिएका बिरुवा रोपिएको छ । पाण्डेले भन्नुभयो, “रोपिएको बिरुवाबाट फलेको आलु पूर्व मूल बीउ बन्दछ, त्यसलाई पनि रोपेर फलाइएपछिको मूल बीउ हो ।” यो मौसममा रोपिएको तीन हजार ४४० बिरुवाबाट करीब २५ हजार दाना आलुको बीउ उत्पादन गर्ने लक्ष्य लिइएको केन्द्रप्रमुख पाण्डेले बताउनुभयो । उहाँका अनुसार अहिले जनकदेव र कार्डिनल जातको आलुको बीउ उत्पादन भइरहेको छ । एउटा बिरुवामा सातदेखि १० दानासम्म फल्ने गर्दछ । यहाँ उत्पादन गरिएको आलुको नयाँ बीउ किसान तथा बीउ बिक्रेतालाई दिइनेछ । उत्पादित प्रिबेसिक नयाँ आलुको बीउ दानाको गन्तीमा बिक्री गरिने पाण्डेले बताउनुभयो । केन्द्रले पाँच खाल उपत्यकामा विस्तारै आलुको बीउ परिवर्तन गर्दै जाने योजना बनाएको छ ।
Categorized in राष्ट्रिय