STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नयाँ प्रविधि सिक्दै राउटे

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ ८, बुधबार

राउटे महामुखिया महिनबहादुर शाहीका छोरा शिवराज शाही ३१ वर्षका भए । उनीसँग कोसी, आरीखाट, मधुस बनाउने निखारिएको सीप छ । उनले यो सीप आफ्ना पुर्खाबाटै सिकेका हुन् । मुखिया वीरबहादुर शाहीका छोरा बिर्खबहादुर शाही उमेरले सानै छन् तर, उनीसँग काठबाट विभिन्न सामग्री बनाउने गज्जबको कला छ । उनले पनि यो सीप बुबाबाटै सिकेका हुन् । राउटे युवा हिमराज शाही जङ्गलका कुकाठबाट आकर्षक भाँडाकुँडा बनाउँछन् । यी तीन युवा मात्र नभई नेपालको भ्रमणशील एक मात्र समुदाय राउटे जातिका पुरुषसँग काठका सामग्री बनाउने अब्बल कला छ । उनीहरुसँग भएको सीप परम्परागत हो । उनीहरु तीन हतियार–बन्चरो, बाँसुल्लो र छिनोले काठका भाँडाकुँडा बनाउने गर्थे । समुदायको परम्परागत सीप र व्यवसायको संरक्षण गर्दै आधुनिक औजारद्वारा काठका सामग्री बनाउने तालीम राउटे युवालाई प्रदान गरिएको छ । काठका भाँडाकुँडा बनाउने तालीम दिएमा जीविकोपार्जनमा सहज हुने बताउँदै आएको समुदायका १३ युवालाई तालीम दिइएको हो । सुर्खेतको गुर्माकोट नगरपालिका–१३ बेतेनीखोला किनारमा बसोबास गर्दै आएका राउटे युवा दैलेखको डुङ्गेश्वर गाउँपालिकामा आइपुगेका छन् । उनीहरु तालीम लिनकै लागि दैलेख आएका हुन् । गुराँस गाउँपालिका र डिभिजन वन कार्यालय दैलेखसँगको समन्वयमा सोसेक दैलेखद्वारा आयोजित तालीममा राउटे युवाले उत्साही भएर नयाँ प्रविधि सिकिरहेका छन् । उनीहरुलाई प्रशिक्षक झलककुमार विक र शेरबहादुर बयलकोटीले तालीम सिकाइरहनुभएको छ । “हामीले कहिल्यै पनि आरा, रन्दा प्रयोग गरेनाँै”, तालीम सिक्दै गरेका राउटे युवा शिवराज शाहीले भने, “बन्चरोले काठ काट्दा धेरैजसो काठ खेर जान्थ्यो, आरा प्रयोग गर्दा काठ खेर नजाँदोरहेछ ।” नयाँ प्रविधिले काठका भाँडाकुँडा र सामग्री बनाउँदा अझ राम्रो हुने र फाइदा पनि हुने शाहीले बताए । थप तालीम पनि आवश्यक पर्ने उनको भनाइ छ । प्रशिक्षक विकले राउटे युवामा नयाँ प्रविधिको तालीम सिक्ने इच्छा धेरै भएको बताउनुभयो । “भर्खरका युवालाई सिक्ने तीव्र चाहना छ”, प्रशिक्षक विकले भन्नुभयो, “राउटेले बनाउने सामानको पहिचान जोगाउँदै नयाँ प्रविधिको सीप सिकाइरहेका छौँ ।” फलामको किलाबाट सामान जोड्न सिक्न चाहे त्यसैअनुसार सिकाउने नचाहे काठकै किला प्रयोग गरेर सिकाउने उहाँको भनाइ छ । “उनीहरुले एउटा मुढाबाट तीन फट्टा निकाल्छौँ भनेका थिए, हामीले त्यहीबाट १६ देखि २० फट्टा निकाल्छौँ भन्दा अचम्म मानेर सिकिरहेका छन्”, विकले भन्नुभयो । विगत नौ महीनादेखि राउटे समुदायको सशक्तिकरण र समुदायमा भएका नराम्रा व्यवहारलाई सुधार गर्दै समुदायको जीविकोपार्जनका लागि काम गर्दै आएको सोसेक दैलेखका अध्यक्ष हीरासिंह थापाले काठहरु धेरै खेर जाने, वनजङ्गल धेरै नासिने भएकाले आधुनिक प्रविधिको तालीम प्रदान गरेर एउटा रुखबाट धेरैभन्दा धेरै काठ प्रयोगमा ल्याउने उद्देश्यले तालीम प्रदान गरिएको बताउनुभयो । राउटेको मौलिकतालाई ख्याल गरेर तालीम सञ्चालन गरिएको उहाँको भनाइ छ । बन्चरो, बाँसुल्लो र छिनोको प्रयोगबाट काठका भाँडाकुँडा बनाउँदै आएका उनीहरु आरा, रन्दालगायतका औजारबाट काठ काट्न सिकिरहेका छन् । राउटे आराद्वारा काठ चिर्ने, टुक्रा पार्ने, रन्दा लगाउने सीप सिकिरहेका छन् । उनीहरुलाई एकहप्ते तालीम अवधिभर किला ठोक्न पनि सिकाइनेछ । समय परिवर्तनसँगै राउटेले तालीमसँगै अन्य कुरालाई स्वीकार गर्न थालेका छन् । दैलेख, सुर्खेत, सल्यान, दाङलगायतका कर्णालीका जिल्लामा डुल्ने र अस्थायी बसोबास गर्ने गरेका फिरन्ते राउटे समुदायको अहिले १४६ जनसङ्ख्या छ ।
Categorized in राष्ट्रिय