STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नयाँ वर्ष २०७९ सुरु

Janjati Khabar – Janjati Khabar | २०७९ बैशाख १, बिहिबार

काठमाडौं- नयाँ वर्ष २०७९ को शुभारम्भ भएको छ । आज (बिहीबार) वैशाख १ गते अर्थात नयाँ वर्ष २०७९ को पहिलो दिन हो ।

नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरेर हर्षोल्लास साथ मनाउने गरिन्छ ।  आजको दिनलाई सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिनका रूपमा लिने गरिन्छ ।

आज वैशाख सङ्क्रान्तिअर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

विक्रम ६० संवत्सरमध्ये एक र आदित्य सूर्यसँग सम्बन्धित भएकाले यसलाई विक्रमादित्य संवत् पनि भनिन्छ । सूर्यको गति र स्थितिअनुसार विक्रम संवत् चल्दछ, शक संवत्का विशेषतादेखि इश्वी संवत्‌को व्यावहारिक गुण यसभित्र समावेश गरिएको छ ।

सूर्य मेष राशिमा प्रवेश गर्दा सुरु भएर मीन राशि छोड्दा यो संवत्को पुरानो वर्ष सकिएर नयाँ वर्ष सुरु हुने भएकाले वैज्ञानिक रहेको विद्वान्‌को भनाइ छ । सौरमान र चान्द्रमानको समन्वय पनि यो संवत्मा भएको छ । कलि युग सुरु भएको तीन हजार ४४ वर्षपछि विक्रम संवत् सुरु भएको हो ।

हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता रअसफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवम् सङ्कल्प गर्ने गर्छन । आज बिहानै नुहाउने, घरकोठा, आँगन सफा गर्ने, मीठोमीठो खाने, साथीसङ्गाती तथा इष्टमित्रसँग भेटघाट गरी एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ ।

विश्वका जुनसुकै कुनामा बस्‍ने नेपालीले पनि वैशाख १ गतेलाई नयाँ वर्षका रुपमा मनाउने गरेका छन् ।

जनजातिखबर परिवारका तर्फबाट सबैमा नववर्ष २०७९ को शुभकामना !

Categorized in राष्ट्रिय