STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नवनिर्वाचित चाँगुनारायण ७ का वडाध्यक्ष श्रेष्ठविरूद्ध पक्राउपुर्जी जारी

Janjati Khabar – Janjati Khabar | २०७९ जेठ १९, बिहिबार

काठमाडौं - भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ७ मा वडा अध्यक्ष निर्वाचित भएको हप्तादिनमै श्यामकृष्ण नायजु श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । ठगी तथा फौजदारी आरोपमा उनलाई पक्राउ गर्न पक्राउ पुर्जी जारी गरिएको हो ।

वडा अध्यक्ष श्रेष्ठविरुद्ध सरकारी जग्गा बैना गरी कीर्ते गरेको आरोपमा प्रहरीमा उजुरी परेको थियो । सोही आधारमा प्रहरीले अनुसन्धानका लागि अदालतको स्वीकृतिमा पक्राउ पुर्जी जारी गरेको थियो ।

उक्त मुद्दामा प्रहरीले केशवप्रसाद अधिकारी र ईश्वर गाइँजुलाई पक्राउ गरिसकेको छ । तर वडा अध्यक्ष श्रेष्ठसहित चारजना फरार रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार वडा अध्यक्ष श्रेष्ठसहित ६ जनाको नाममा पक्राउ पुर्जी जारी भएको थियो । जसमध्ये अधिकारी र गाइँजू पक्राउ परिसकेका छन् । उनीहरु अनुसन्धानको लागि थुनामा रहँदा वडा अध्यक्ष श्रेष्ठसहित चार जना फरार रहेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।

उनले श्रेष्ठ वडा अध्यक्षमा निर्वाचित भएर सपथ तथा पदभार ग्रहणपछि पक्राउ पुर्जी जारी भएको जानकारी दिए । उनका अनुसार पक्राउ पुर्जी जारी भएका वडा अध्यक्ष श्रेष्ठ फरार छन् ।

तर, प्रहरीले फरार भनेका वडा अध्यक्ष श्रेष्ठ भने दिनहुँ वडा कार्यालय पुगिरहेका छन् । उनी मंगलबार नै चाँगुनारायण नगरपालिका कार्यपालिका सदस्य निर्वाचनमा समेत सहभागी भएको बुझिएको छ ।

चाँगुनारायण नपा ७ का वडा सचिव शंकर केसी वडा अध्यक्ष श्रेष्ठले नियमित वडा कार्यालय आइरहेको बताउँछन् । उनका अनुसार वडावासीको अत्यावश्यक काम नरोकिने गरी वडा अध्यक्ष श्रेष्ठ कार्यालय पुगिरहेका छन् ।

तर वडा अध्यक्ष कार्यालयमा केही समयमात्रै रहने भएकाले सेवाग्राहीहरु मारमा परेका छन् । विशेष काम परेर वडा कार्यालय पुगेका सेवाग्राहीहरुले वडा अध्यक्ष भेट्न पाइरहेका छैनन् ।

वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा चाँगुनारायण नपा ७ वडाको अध्यक्षमा श्रेष्ठ एक्लै राप्रपाबाट निर्वाचित भएका थिए । अन्य चारजना वडा सदस्यहरु भने नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए ।

Categorized in अपराध-दुर्घटना