STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नारायणहिटीमा रेस्टुरेन्टबारे छानबिन गर्न समिति गठन

Janjati Khabar | २०७८ पौष २२, बिहिबार

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयद्वारा सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेष्टुरेन्टलगायतका व्यवसाय गर्न बतास समूहलाई दिने हालसम्मका निर्णय प्रक्रियाका बारेमा छानबिन गर्न समिति गठन गरिएको छ ।

आज गठन गरिएको उक्त समितिमा कर्मचारी प्रशासन शाखाका उपसचिव टेकनारायण पौडेल, आर्थिक व्यवस्थापन महाशाखाका लेखा नियन्त्रक सूर्यमणि गौतम, सदस्यमा कानुन शाखाका उपसचिव पुरुषोत्तम खतिवडा तथा समितिको सदस्यसचिवमा शाखा अधिकृत टङ्कबहादुर नेगी रहनुभएको छ । दरबार सङ्ग्रहालयभित्र निर्माण गर्न लागिएको रेष्टुरेन्टका बारेमा तीन दिनभित्र छानबिन गरी प्रतिवेदन पेश गर्न समितिलाई निर्देशन दिइएको मन्त्री आलेले जानकारी दिनुभयो ।

मन्त्री आलेले नारायणहिटी सङ्ग्रहालय परिसरमा निर्माण भइरहेको रेस्टुरेन्टको काम रोक्न नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालक विकास समितिलाई यही पुस २० गते निर्देशन दिनुभएको थियो । मन्त्री आलेको निर्देशनपछि नारायणहिटी दरबार समितिले बी म्यानेजमेन्ट प्रालिलाई पत्र लेखेर अर्को आदेश नभएसम्मका लागि काम रोक्न निर्देशन दिइसकेको छ ।

समितिले सङ्ग्रहालयको १० रोपनी जमिनमा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्न बतास कम्पनीसँग सम्झौता गरेको थियो । पुरातात्विक क्षेत्र मानिएको नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेस्टुरेन्ट बन्दै गरेको समाचार आएपछि चौतर्फी आलोचना भएको थियो ।

Categorized in उपत्यका