STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नारायणहिटी संग्रहालयभित्रको महायज्ञ रोकियो

Janjati Khabar – Janjati Khabar | २०७८ माघ १८, मंगलबार

माघ १८, काठमाडौं - नारायणहिटी दरबार संग्रहालयभित्र बिहीबारदेखि हुने भनिएको महायज्ञ रोकिएको छ। कोरोना संक्रमणको जोखिम भन्दै संस्कृति तथा पर्यटन मन्त्रालयका सचिवस्तरीय निर्णयले रोकिएको हो।

संग्रहालयस्थित पूजाघरमा ‘हजुरलाई नमस्ते परोपकारी अभियान र श्री सतिश्राप मोक्ष धाम’ नामक संस्थाले माघ २९ गतेसम्म ‘सतीश्राप मुक्ति श्री शिवशक्ति महायज्ञ’को तयारी गरेका थिए।

नारायणहिटी संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिले आयोजकलाई उपलब्ध गराएको पत्रमा ‘.....जिल्ला प्रशासन कार्यालयको माघ १४ को आदेशबमोजिम महायज्ञ तत्कालका लागि गराउनुहुन निर्णयार्थ अनुरोध छ,’ भनिएको छ।

माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले शासनसत्ता आफ्नो हातमा लिएर ‘कु’गरेको दिन हो। महायज्ञ उद्घाटनका लागि बिहीबार पूर्व राजा पनि संग्रहालय जाने कार्यक्रम तय थियो। उनी दरबार छाडेयता त्यहाँ गएका छैनन्।

राजा वीरेन्द्रको निवास श्रीसदस्थित पूजाघर हालः सर्वसाधारणका लागि खुला गरिएको छैन। समितिको पुस १२ गतेको बैठकले महायज्ञ गर्न स्वीकृति दिने निर्णय गरेको थियो।

मुलुकको अमनचयन, सु–व्यवस्था कायम राख्न साथै विभिन्न संकटबाट मुक्ति पाउन गरिने महायज्ञका लागि पूजाघर उपयुक्त स्थान हुने भन्दै आयोजकले उक्त स्थान रोजेका थिए। नारायणहिटीभित्र हालसम्म कुनै पनि महायज्ञ लगाइएको छैन।

Categorized in राष्ट्रिय