STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नारी स्रष्टाहरुको संस्थाद्वारा चार कथा संग्रह विमोचन

Janjati Khabar – विजयरत्न असंबरे | २०८१ मङ्सिर ९, आइतबार

नेपालभाषा साहित्य क्षेत्रमा सकृय नारी स्रष्टाहरूको संस्था मिसा साहित्यकार मुनाले नागार्जुन प्रकाशन द्वारा प्रकाशित चार साहित्यकारहरुको एकसाथ चार कथा संग्रह विमोचन गरेको छ । 

ललितपुरको कोपुण्डोलस्थित सातोआकि भवनको सभाकक्षमा आयोजित एक समारोहका बीच स्रष्टाहरू समान्त श्रेष्ठको 'मयजुकल डटकम', माणिक उरायको 'जि म्वानाच्वनागु दनि', रामेश्वर जलनको 'बाखं कि प्याखं' र दिव्या बज्राचार्यको 'चिग्वः मल्ता'को विमोचन गरिएको हो ।

समारोहमा प्रमुख अतिथिको आसनबाट कथाकार ध्रुव मधिकर्मीले साहित्य लेखनमा स्रष्टाहरूको अग्रसरता उत्साहप्रद भएको बताउँदै साहित्यिक संस्थाहरूले पाठकसम्म स्रष्टाहरूलाई पुर्याउन  पनि पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ अगीब बनेपालीले प्रज्ञाप्रतिष्ठानले संस्थाहरूसित सहकार्य गरेर साहित्यलाई अगाडि बढाउन चाहेको बताउनुभयो ।

कवयित्री प्रतिसरा सायमीले स्रष्टाहरूलाई शुभकामना दिँदै मिसा साहित्यकार मुनाले स्रष्टाहरूको लागि राम्रो काम गरेको बताउनुभयो ।

समीक्षक सुधीर ख्वबिले रचनामा समाजका विविध पक्षलाई उतार्ने प्रयास छ भन्नुभयो ।

सभापतिको आसनबाट साहित्यकार मुनाका अध्यक्ष विमलप्रभा बज्राचार्यले नारीहरूको संस्था भए पनि यसले समग्र साहित्यको विकासका लागि कार्य गरिरहेको उल्लेख गर्नुभयो भने दिव्या ताम्राकार ले स्वागत मन्तव्य राखेको यस कार्यक्रममा चारैजना स्रष्टाहरूले आआफ्ना कृतिबाट एउटा एउटा लघुकथा वाचन गर्नुभएको थियो ।

Categorized in साहित्य-कला