STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख २४, मंगलबार

अछामको मेल्लेख गाउँपालिका–३ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट १०१ अपाङ्गता भएका व्यक्तिले सेवा लिएका छन् । शिविरमा सात जनाको माइनर शल्यक्रिया गरिएको छ भने १६ लाई शल्यक्रियाका लागि सिफारिश गरिएको छ । यस्तै दुईलाई सहायक सामग्री वैशाखी र ह्वीलचियर उपलब्ध गराइएको छ भने चारलाई सहायक सामग्री उपलब्ध गराउन नाप लिइएको छ । शिविरकै अवसरमा अन्य ९० लाई अपाङ्गतासम्बन्धी अभिमुखीकरण र ८३ लाई परमर्श सेवासमेत दिइएको छ । मेल्लेख गाउँपालिकाको आयोजना र विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र काभ्रेको प्राविधिक सहयोगमा सञ्चालन भएको सो शिविरमा गाउँपालिकाले २३ लाई अपाङ्गता परिचयपत्र वितरणसमेत गरेको छ । गाउँघरमै अपाङ्गता भएका लागि स्वास्थ्य शिविर र सरकारी सुविधा उपलब्ध भएपछि अपाङ्गता भएका व्यक्ति निकै खुशी भएको स्थानीय लालबहादुर चदाराले बताउनुभयो । गाउँपालिकासँगको सहकार्यमा अपाङ्गताको उपचारसँगै निःशुल्क औषधि तथा फिजियोथेरापी सेवा उपलब्ध गराएको अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्रका नेत्रबहादुर देउजाले बताउनुभयो । अपाङ्गता भएर गाउँघरमै कष्टकर जीवन बाँचिरहेका व्यक्तिका लागि गाउँमै पुगेर सेवा दिन पाउँदा निकै खुशी लागेको भन्दै मेल्लेख गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हिक्मत बुढाले अपाङ्गता भएकाका लागि यो सुवर्ण अवसर भएको बताउनुभयो । अपाङ्गता भएका व्यक्तिलाई पनि सपाङ्गसरह जीवन जिउनका लागि स्थानीय सरकारमार्फत पनि आवश्यक कार्यक्रम अघि बढाइने मेल्लेख गाउँपालिकाका अध्यक्ष लोकबहादुर बोहराले बताउनुभयो ।
Categorized in राष्ट्रिय