नियमित उडानबाट विदेशका नेपालीकाे उद्धार गरिने
Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र ५, शुक्रबार
काठमाडौं – सरकारले नियमित उडानमार्फत खाडीसहित विभिन्न तेस्रो मुलुकमा रहेका नेपालीलाई स्वदेश ल्याउने भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कतै नियमित उडानमार्फत कतै चाटर्ड उडानबाट विभिन्न मुलुकमा रहेका नेपालीलाई स्वदेश ल्याउने निर्णय भएको हो ।
मलेसिया, युएई, दक्षिण कोरिया, थाइल्यान्ड, जापान, चीन, हङकङ, अस्ट्रेलिया, अमेरिका, युरोपलगायत देशमा रहेका नेपालीलाई नियमित उडानमार्फत स्वदेश आउन पाउने भएका छन् ।
नियमित र चाटर्ड उडानमार्फत स्वदेश आउन चाहने नागरिकले काठमाडौंमा अनिवार्य सातदिन क्वारेन्टिनमा बस्नुपर्ने छ । यसका अतिरिक्त स्वदेश आउन चाहने नागरिकले ७२ घण्टाभित्र कोरोना परीक्षण गरेको (पीसीआर ) रिपोर्ट पनि देखाउनुपर्ने हुन्छ ।
यसैगरी भारतबाट स्थल नाका भएर स्वदेश आउन चाहने नागरिकले सीमाबिन्दुकै होटलमा सात दिन क्वारेन्टिन बस्नुपर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेकाे छ।
सरकारले यसअघि नै २० वटा नाकाबाट घटाएर १० वटा नाकाबाट मात्र स्वदेश आउन दिने निर्णय गरिसकेको छ ।
यसैगरी मन्त्रिपरिषद् बैठकले काठमाडौंमा ६ देखि १० हजार आइसोलेसन सङ्ख्या पुर्याउने निर्णय पनि गरेको छ । त्यस्तै कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले त्रिवि शिक्षण अस्पतालसहित विभिन्न सरकारी, सामुदायिक, सहकारी अस्पतालहरू लिने नीतिगत निर्णय पनि गरेको छ । आवश्यक पर्दा निजी अस्पताललाई पनि लिन सक्ने निर्णय गरेको छ । त्यसको विस्तृत योजना तर्जुमा गर्न स्वास्थ्य मन्त्रालयलाई दिइएको मन्त्रीको भनाइ छ ।
Categorized in राष्ट्रिय