निर्देशक देवकुमार श्रेष्ठको नेपालभाषाको नयाँ म्युजिक भिडियो सार्वजनिक
Janjati Khabar – Janjati Khabar | २०७८ भाद्र २, बुधबार
काठमाडौं – नेपालभाषाको म्युजिक भिडियो क्षेत्रमा बिग–बजेट म्युजिक भिडियो एल्बमको रुपमा लोकप्रिय रहेको ‘ल्वःवन’ एल्बमका निर्देशक देवकुमार श्रेष्ठको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गायक, रचनाकार एवं संगीतकार भेष महर्जनको हेभी रक गीत ‘हाल हाल...’को म्युजिक भिडियोको निर्देशन श्रेष्ठले गरेका हुन् ।
सो भिडियो नाइस टेलिभिजनको ‘झीगु सः’ नेवार कार्यक्रममा हिजो मंगलबार बेलुकी प्रिमियर भएको हो ।
यस गीतका सर्जक भेष महर्जनलाई नेवार संगीत क्षेत्रका राइजिङ्ग स्टारको रुपमा लिइएको छ ।
यसअघि रचनाकार निर्मलरत्न शाक्यको बिग–बजेट म्युजिक एल्बम ‘ल्वःवन’का गीतहरु निर्देशन गरेका श्रेष्ठले अहिलेको गीतलाई एक चुनौतिको रुपमा लिएका छन् ।
श्रेष्ठले यसअघि नेपाली फिल्महरु ‘एक दिन एक रात’, ‘लभसब’, ‘लालटिन’, ‘नेप्टे’, ‘ह्याप्पी न्यु यर’ निर्देशन गरिसकेका छन् ।
अहिले आइरहेका प्रायः म्युजिक भिडियोहरुले प्रेमको कथा भन्ने गरे पनि ‘हाल हाल’ गीको म्युजिक भिडियोले देश र मातृभाषालाई माया गर्ने तथा आजभोलिको भिडमा हराइरहेका पात्रको कथा बोकेको छ ।
यस म्युजिक भिडियोको छायाँकन एवं सम्पादन अमर चित्रकारले गरेका छन् । नेपालभाषाको म्युजिक भिडियो क्षेत्रमा आजभोलिका व्यस्त प्राविधिकको रुपमा चित्रकारलाई लिइन्छ । यस गीतको सम्पादनको लागि आफूले विभिन्न माध्यमबाट धेरै अध्ययन गर्नुपरेको चित्रकार बताउँछन् ।
नाइस टेलिभिजनबाट प्रिमियर भइसकेपछि सो गीतलाई हाइलाइट्स नेपालको युट्युब च्यानलबाट हेर्न सकिने गायक भेष महर्जनले जनाएका छन् ।
Categorized in साहित्य-कला

