नेपालका अनुप बिक्रम बलिउड स्टार सलमान खानसंग
Janjati Khabar – विजयरत्न असंबरे | २०८२ आश्विन ४, शनिबार
नेपाली चलचित्रमा भर्सटाइल अभिनेताको रुपमा पहिचान बनाएका अभिनेता अनुपबिक्रम शाही अब बलिउड भनिने हिन्दी चलचित्रमा पनि देखिने भएका छन् । उनी ग्लोबल स्टारको उपमा पाएका बलिउड मेगास्टार सलमान खानको फिल्म ‘ब्याटल अफ गल्वान’मा सलमानसँगै स्कृन सेयर गरेका हुन् ।
सलमान खान फिल्मसको ब्यानरमा निर्माण भइरहेको यो वार ड्रामामा सलमानसँगै अनुपबिक्रमले प्रमुख भुमिका निर्वाह गरेका छन् । सन् २०२० मा गल्वान भ्यालीमा भारतीय र चिनियाँ सेनाबीच भएको युद्धमा आधारित रहेर यो फिल्म तयार हुँदैछ । भारतीय सेनाका कर्नेल सन्तोष बाबुको भुमिकामा सलमान देखिँदैछन् भने सलमानको तीन दशक लामो फिल्मी करियरमा यो पहिलो बायोपिक फिल्म हुनेछ ।
फिल्मको पहिलो चरणको छायांकन भारत र चीनबीचको हिमाली बोर्डर लद्दाकमा सम्पन्न भएको छ । हालै अनुप उक्त छायांकन सकाएर नेपाल फर्केका छन् । सलमान खानले नेपाल र नेपाली कला संस्कृतिबारे पटक पटक जिज्ञासा राखेको अनुपले बताए । हाम्रो देश र नेपालीको बारेमा ठुलो सम्मान उहाँबाट पाएँ।’ यो फिल्मको दोस्रो छायांकन सेड्यूअल अक्टोबर नोभेम्बरको बीचमा मुम्बईमा तय भएको उनले जानकारी दिए ।
‘सलमान खान जस्तो ग्लोबल स्टारसँग स्कृन सेयर गर्न पाउँदा उत्साहित छु, अनुपले भने, ‘बलिउडमा यो मेरो एकल प्रतिनिधित्व होइन, सिंगो नेपालको र नेपाली फिल्म उधोगको प्रतिनिधित्व हो, देशको नाम अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन पाउँदा गर्वान्वित महसुस गरेको छु ।’
नेपालमा एक्सन प्रधान फिल्ममा अग्र रोजाईमा आउने अनुप यो वार ड्रामामा पनि सलमानको अपोजिटमा देखिने अनुमान गरिएको छ । अनुपले फिल्ममा आफ्नो भुमिका बारे बाँकी खुलाउन चाहेनन् । ‘अहिले छायांकनको चरणमै छौं बाँकी कुरा बिस्तारै खुल्दै जानेछ, समय अन्तरमा यहाँहरूले पर्दामा नै देख्न पाउनु हुनेछ’ उनले भने ।
फिल्मको नाम र कास्टमा सलमान जोडिँदा बलिउडमा घोषणाको समयदेखि नै प्रतिक्षित बनेको यो फिल्ममा अनुप जोडिँदा नेपाली दर्शकलाई थप विशेष बन्ने निश्चित छ । गुपचुप रूपमा फिल्मको पहिलो चरणको छायांकन सकाएर नेपाल फर्केका अनुपले यो बीचमा सामाजिक सञ्जालमा संकेत दिने केहि पोस्टहरू भने सेयर गरेका थिए, तर फिल्मसँग जोडिएका तथ्यहरू भने सार्वजनिक गरेका थिएनन् ।
बलिउडका भेट्रान निर्देशक अपुर्व लाखिया यो फिल्मका निर्देशक हुन् । ‘लगान’ फिल्ममा सहायक निर्देशक हुँदै वलिउडको निर्देशकीय यात्रा थालनी गरेका अपुर्वले त्यसयता मुम्बई से आया मेरा दोस्त, सूटआउट एट लोखनवाला, हसिना पार्कर, मिसन इस्तानबुल लगायतका दर्जनौं फिल्म निर्देशन गरिसकेका छन् । ‘ब्याटल अफ गल्वान’को प्रदर्शन मिति भने तय भइनसकेको भए पनि यो फिल्म सन् २०२६ को ईदको अवसरमा आउने अनुमान गरिएको छ ।
Categorized in सिनेमा

