नेपालभाषा क्षेत्रकै ठूलो पुरस्कार सत्यमोहन जोशीलाई
Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण ४, आइतबार
काठमाडौं– काठमाडौं र विराटनगरको सुदर्शन–कपिला पुरस्कार (सिरपा)द्वारा वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी सम्मानित भएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा जोशीलाई नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले नगद दुई लाख रुपैयाँसहित उक्त पुरस्कार प्रदान गरेका थिए ।
यो पुरस्कार नगद राशी २ लाखको थैली सहितको रहेको र यसलाई नेपालभाषा क्षेत्रकै ठूलो नगदसहितको पुरस्कारको रूपमा लिइएको छ ।
झी पुचः नेपालभाषा तथा सांस्कृतिक संघ विराटनगरको आयोजनामा शुक्रबार काठमाडौंको नक्सालमा भएको कार्यक्रममा विराटनगरबाट आएका विभिन्न क्षेत्रका नेवार व्यक्तित्वहरुको सहभागिता थियो ।
शताब्दी पुरुष जोशीले नेपालभाषा, संस्कृति क्षेत्रमा अनवरत रुपमा दिइरहेको योगदानको कदर गर्दै उक्त पुरस्कार दिइएको आयोजक झी पुचःले जनाएको छ ।
झी पुचः नेपालभाषा तथा सांस्कृतिक संघ विराटनगर तथा सुदर्शन–कपिला ट्रष्टका समेत अध्यक्ष रहेका जयन्त प्रधानांगले वाङमय शताब्दी पुरुषलाई सम्मान गर्न पाएकोमा खुुुशी व्यक्त गर्दै प्रत्येक दुई वर्षमा नेपालभाषा संस्कृतिको उत्थान, संरक्षण, संवद्र्धनमा योगदान दिने व्यक्तिलाई पुरस्कारले सम्मान गर्ने बताए ।
कार्यक्रममा नेवाः मिसा दबूका केन्द्रीय अध्यक्ष रश्मिला प्रजापतिले शुभकामना मन्तव्य राखेका थिए ।
नेपाल संवत् ११११ देखि सक्रिय झी पुचः विराटनगर मोफसलमा रहेको अग्रणी संस्थामध्ये एक हो ।
Categorized in राष्ट्रिय