नेपालमा काेराेना संक्रमितको संख्या ९ हजार नाघ्याे, मृत्यु हुने २३ जना
Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ ७, आइतबार
काठमाडौं : शनिबार मात्र ४२१ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा काेराेना संक्रमितको संख्या ९ हजार २६ पुगेको हो। याेसँगै नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ९ हजार नाघेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिलेसम्म पीसीआर विधिबाट एक लाख ७५ हजार एक सय ७३ र आरडीटी विधिबाट दुई लाख ६२ हजार एक सय ७४ जनाको नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा २२ प्रयोगशाला पीसीआर विधिबाट ६ हजार ८ र आरडीटी विधिबाट ९ हजार आठ सय ७४ जनाको नमुना परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार क्वारेन्टाइनमा ९४ हजार ९ सय २८ छन् भने आइसोलेसनमा सात हजार दुई सय ३१ जनाको उपचार भइराखेको छ । आइतबार ८ महिला र १८६ पुरुष गरेर १९४ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म कोरोना जित्नेको संख्या भने १७ सय ७२ पुगेको छ । जसमध्ये १४९ महिला र १६ सय २३ पुरुष रहेका छन् ।
यसैगरी
नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ। गौतमका अनुसार असार ५ गते गुल्मीको चत्रकोट गाउँपालिका ५ का ६९ वर्षीय पुरुषको मृत्यु भएको हो। पारालाइसिसको उपचारका लागि भारत गएको र जेठ २५ गते नेपाल आएका वृद्धको असार ५ गते होम क्वारेन्टाइनमै मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए।
गौतमका अनुसार मृत्युपछि पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट पोजिटिभ आएको हो। ६ गते भैरहवा प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना पुष्टि भएको थियो। उनको शव असार ६ गते नेपाली सेनाको विशेष टोलीले व्यवस्थापन गरिसकेको छ। यसअघि २२ जनाको कोरोनाकै कारण मृत्यु भइसकेको छ।
Categorized in राष्ट्रिय