STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेपाली कांग्रेसको घोषणापत्र सार्वजनिक

Janjati Khabar – Janjati Khabar | २०७९ बैशाख ११, आइतबार

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि तयार पारेको घोषणापत्र सार्वजनिक गरेको छ ।

कांग्रेस महामन्त्री गगन थापा संयोजकत्वको स्थानीय तह निर्वाचन, २०७९ घोषणापत्र तयारी समितिले तयार गरेको घोषणापत्र पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संयुक्त रूपमा सार्वजनिक गरेका हुन् ।

घोषणापत्रमा सामाजिक सुरक्षा, स्वास्थ्य शिक्षा जस्ता विषयलाई विशेष प्राथमिकतामा राखिएको छ । घोषणापत्रमा कांग्रेसले गर्ने र कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले नगर्ने कामलगायतलाई समेत समेटिएको छ ।

घोषणापत्रमा समग्र स्थानीय सरकारलाई हेर्ने कांग्रेसको दृष्टिकोण, स्थानीय सरकारलाई सबल बनाउन प्रतिबद्धता, सुशासन, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा जनजिविकासँग सम्बन्धित विषय तथा कांग्रेसका प्रमुख रहेका पालिकाहरूका उत्कृष्ट अभ्यासलगायतका विषयलाई समेटिएको छ ।

सत्तारुढ नेपाली कांग्रेसले जनताको करबाट उठेको राजस्वलाई भ्युटावर, स्वागतद्वारजस्ता अनुत्पादक क्षेत्रमा लगानी नगर्ने बताएको छ।

कांग्रेसबाट स्थानीय सरकारको नेतृत्व गर्ने जनप्रतिनिधिले भ्युटावर, स्वागतद्वारजस्ता अनुत्पादक क्षेत्रमा लगानी नगर्ने संकल्प गरिएको हो। ‘सरकारी सम्पत्तिको दुरुपयोग तथा प्राकृतिक स्रोत–साधनको दोहन गर्दैनौ, गर्न दिने छैनौं,’ कांग्रेसले आइतबार सार्वजनिक गरेको संकल्प पत्रमा भनिएको छ।  

कानूनको सीमाभन्दा बाहिर गएर तथा आर्थिक प्रलोभन वा व्यक्तिगत प्रभावमा परेर कुनै पनि निर्णय वा काम नगर्ने संकल्प गरिएको छ। नातेदार वा परिवारका सदस्यलाई सल्लाहकार, विज्ञ, कर्मचारी वा सहयोगी नियुक्त नगर्ने जनाएको छ। निर्दिष्ट योजना र विनियोजित स्रोत सीमाबाहिर गई अपारदर्शी वा अनुत्तरदायी रुपमा हचुवाका भरमा कुनै पनि निर्णय वा काम नगर्ने घोषणापत्रमा उल्लेख छ।

कानून, आर्थिक तथा वित्तीय उत्तर दायित्व र अनुशासनको उल्लंघन नगर्ने भनिएको छ। महिलामाथि हुने हिंसा, जातीय भेदभाव, लैंगिक विभेद, सामाजिक विकृति र विसंगतिलाई प्रोत्साहन हुने कुरामा प्रत्यक्ष तथा परोक्ष रुपमासमेत कुनै पनि अवस्थामा संलग्न नहुने भनिएको छ।

Categorized in राजनीति