नेपाल संवत्को नव वर्ष मनाउन समारोह समिति गठन
Janjati Khabar – जनजातिखबर संवाददाता | २०७७ कार्तिक १४, शुक्रबार
काठमाडौं – नेपाल संवत् ११४१ नव वर्ष वर्षैभरि विविध कार्यक्रम गरी मनाउन समारोह समिति गठन भएको छ ।
रमेश महर्जनको अध्यक्षतामा ‘नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४१’ गठन भएको समितिले शुक्रबार एक विज्ञप्ति जारी गरी जनाएको छ ।
कोरोना संक्रमणको जोखिम रहेकाले भेला बोलाउने अवस्था नभएको जनाउँदै गत वर्षको न्हूदँ समारोह समितिकै सदस्य तथा प्रतिनिधिहरु समाविष्ट गरी सोही समितिलाई नै निरन्तरता दिइएको अध्यक्ष महर्जनले जनाएका छन् ।
अध्यक्ष महर्जनले जनाएअनुसार असोज १२ गते बसेको समितिको बैठकमा समितिका सल्लाहकार एवं सांस्कृतिक, सम्पदा तथा सामाजिक अभियन्ताहरुको सल्लाहबमोजिम समिति गठनको निर्णय भएको हो । समितिमा समाविष्ट सम्बन्धित संघसंस्थाले आ–आफ्ना प्रतिनिधि हेरफेर गर्न सकिने तथा गत वर्ष समाविष्ट नरहेका संघसंस्थाले यस वर्षको लागि प्रतिनिधि पठाउन सकिने पनि बैठकको निर्णय भएको पनि विज्ञप्तिमा उल्लेख छ ।
नेपाल संवत् उत्सव मात्र नभएर सांस्कृतिक जागरण अभियान पनि भएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, “नेपाल संवत् मनाउनु उत्सवमात्र नभएर सांस्कृतिक जागरण अभियान पनि रहेको तथा यो राज्यको सांस्कृतिक नीतिमा हस्तक्षेप गर्ने आन्दोलन पनि हो । यसैगरी नेपाल संवत् आन्दोलनका प्रवर्तक दिवंगत पद्मरत्न तुलाधरलाई सम्झँदै उहाँले देखाउनुभएको सांस्कृतिक एकता र राष्ट्रियता प्राप्तिको मार्गमा लाग्ने संकल्प गर्नु पनि हो ।”
देशकै नाममा रहेको नेपाल संवत् स्थापना गर्ने शंखधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गरिसकेको तथा नेपाल संवत्लाई नेपालको राष्ट्रिय संवत् घोषणा गराउन नेपाल संवत्को आन्दोलनले सफलता प्राप्त गरिसकेको विज्ञप्तिमा उल्लेख छ । अहिले अझै सरकारी कामकाजमा नेपाल संवत्लाई प्रयोगमा ल्याउन, नेपाली राष्ट्रियता सुहाउँदो संवत् सम्बन्धमा आवश्यक नीति बनाउन सरकारलाई बाध्य पार्न, देशका सम्पूर्ण जनजातिका सांस्कृतिक चाडपर्वलाई समानताको आधारमा सरकारी व्यवहार गराउने कार्यको लागि सो आन्दोलन आवश्यक रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।
कोरोना महामारी यथावत रहेको अवस्थामा नेपाल संवत् ११४१ को नववर्षको समारोह कसरी मनाउने भन्ने सन्दर्भमा नेपाल संवत् आन्दोलनका अगुवा व्यक्तित्व तथा संघसंस्थाहरुसँग छलफल गरी चाँडै निर्णय दिइने समितिका अध्यक्ष रमेश महर्जनले जनाएका छन् ।
Categorized in राष्ट्रिय


