STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेवार समुदायको मौलिक पर्व ‘यःमरी पुन्हि’

Janjati Khabar – Janjati Khabar | २०७९ मङ्सिर २२, बिहिबार

काठमाडाैं - लामो इतिहास, संस्कृति, परम्परा अनि सम्पदाले भरिपूर्ण काठमाडौँ उपत्यका, यहाँका रैथाने नेवार समुदायले मनाइने अनेकौँ चाडपर्वको आफ्नै महत्व र विशेषता छ । यस्तै पर्वमध्ये एउटा प्रमुख र मौलिक पर्व हो, ‘यःमरी पुन्हि’ । हेमन्त ऋतुमा पर्ने यो पर्व मार्ग शुक्ल पूर्णिमा अर्थात् धान्य पूर्णिमाको अवसरमा आज धुमधामले मनाइँदैछ ।

नेपाल संवत्को दोस्रो महिना थिंलामा पर्ने भएकाले यसलाई ‘थिंला पुन्हि’ पनि भनिन्छ । नेवार समुदायमा कृषिसम्बन्धी धेरै चाडपर्व हुने गर्दछन् । मौसमअनुसारको खानपान गर्न सिपालु नेवार समुदायले त्यही खाने पकवानको नामबाटै पनि चाडपर्वलाई परिचित गराएका छन् । मार्ग शुक्ल पूर्णिमाको दिन मनाइने यःमरी पुन्हि पनि यस्तै एउटा पर्व हो, जसको नाम स्वादिष्ट पकवान यःमरीबाट प्रख्यात छ ।

“यस पर्वमा विशेष गरी चामलको पिठोबाट बनाइने स्वादिष्ट पकवान यःमरी खाने र पूर्णिमाको दिन मनाइने भएकाले यस पर्वको नाम यःमरी पुन्हि रहन गएको हो”, संस्कृतिकर्मी ओमप्रसाद धौभडेलले भने । कृषि कर्म गर्नेका लागि मार्ग शुक्ल पूर्णिमा ठूलो पर्व हो । यस दिन पुर्वी पहाडी जिल्लाका किराँत समूदायले उभौली पर्व मनाउँछन् । त्यस्तै उपत्यकाका नेवारभित्रकै ज्यापु समुदायले ज्यापु दिवसका रूपमा पनि यो पर्वलाई मनाउने गर्दछन् ।

खसआर्य समुदायले पनि यस दिनलाई ठूलो दिनको रुपमा कुलपूजा, देवाली पूजा गर्ने प्रचलन रहेको छ । नेपाल भाषामा ‘यः’ भनेको मनपर्ने र ‘मरी’ भनेको रोटी वा मिठाई भन्ने अर्थ लाग्छ । यःमरी लाई पञ्चतत्वको रुपमा पनि स्वीकार गर्छन् । यःमरीमा धरतीको रुपमा चामलको पिठो, अग्निको रुपमा चाकु, जलको रुपमा पानी, आकाशको रुपमा खाली ठाउँ र वायुको रुपमा तिललाई लिइन्छ । नयाँ धान भित्र्याएको खुसियालीमा हर्षोल्लासका साथ यो चाड मनाइन्छ ।

भर्खरै भित्र्याइएको नयाँ धानको चामलबाटै यःमरी बनाउने र नयाँ अन्न राखिएको भकारी एवं भण्डारमा याःमरीलगायत लक्ष्मी, गणेश, कुवेर, नाङ्लो, सुकुन्दा, कुचो समातेको मान्छे, पानस, कछुवा आदिको मूर्तिसहित चेप्टो सानो सानो पात आकारको ल्होँचामरी (मुतुमारी) बनाई पूजा गरी चढाउने गरिन्छ । धानका भकारीलगायत अन्नका भण्डारमा यःमरी चढाउँदा धनलक्ष्मी खुसी हुने र त्यसको प्रभावमा घर अन्नले भरिपूर्ण हुने र धनलाभ हुने जनविस्वास रहिआएको छ ।

यसरी चढाएको यःमरी चार दिनपछि प्रसादको रूपमा परिवारमा बाँडेर खाने चलन रहेको छ । यःमरी पुन्हिको साँझपख टोलटोलमा केटाकेटी, युवायुवती जम्मा भई योःमरी माग्ने प्रचलन पनि रहेको छ । यो एक प्रकारले देउसी, भैलोजस्तै प्रचलन हो । यःमरी माग्ने प्रचलन यस दिनको एक महत्वपूर्ण सांस्कृतिक पक्ष पनि हो जसलाई ‘त्यसिंत्य’ भन्ने गरिन्छ ।

Categorized in उपत्यका