नेवार समुदायलाई लकडाउनमा सचेत र सतर्क रहन नेवाः जागरण मञ्चको आह्वान
Janjati Khabar – जनजाति खबर | २०७७ जेठ १८, आइतबार
काठमाडौं – लकडाउन लम्बिँदै जाँदा यसले विकराल रुप लिई विविध समस्या दिइरहेको सन्दर्भमा नेवाः जागरण मञ्चले एक वक्तव्य प्रकाशित गरी नेवार समुदायलाई विभिन्न पहलहरु गर्न सार्वजनिक आह्वान गरेको छ ।
मञ्चका अध्यक्ष सुजीव वज्राचार्यले आइतबार निकालेको वक्तव्यमा लकडाउनको समय एकापसमा मानवीय र आर्थिक सहयोगको भावना जागृत गरी व्यक्तिगत र संघसंस्थामार्फत् पहल लिन अनुरोध गरेको छ ।
यसैगरी, लकडाउनपश्चात् आउनसक्ने आर्थिक, व्यापारिक समस्यालाई विचार गरी कार्ययोजना बनाउन तथा बहाल बुझाउने समस्या घरधनी र बहालमा बस्नेबीच छलफल भई निर्धारण हुनुपर्ने र यसमा अनावश्यक हस्तक्षेप हुन नदिने तर्फ सचेत रहन पनि आह्वान गरिएको छ ।
लकडाउन आन्तरिक रुपमा पालना गराउने तर बाहिरबाट मानिसहरू भित्र्याउने जस्ता प्रवृत्तिको घोर विरोध गर्दै मञ्चले उपत्यकाभित्र बाहिरबाट मानिसहरू भित्र्याउनेतर्फ सतर्क र सचेत भई प्रशासनलाई दबाब दिन पनि आह्वान गरेको छ ।
लकडाउनको समय सरकारबाट आउनसक्ने नेवार विरोधी विधयेक, विभिन्न प्रकारका निर्णयहरू आदितर्फ सचेत र सतर्क भई एकापसमा विभिन्न माध्यमबाट सम्पर्क भन्दै मञ्चले कोभिड–१९ को कारण जारी लकडाउनको विषम परिस्थितिमा बेरोजगार मानिसहरू चोरी, डकैटी, ठगीजस्ता कार्यमा प्रवृत्त हुनसक्ने भएकाले सुरक्षाका सवालमा पनि सतर्क र सचेत रहन वक्तव्यमा अनुरोध गरेको छ ।
साथै, नेवाः जागरण मञ्चले नेवार क्षेत्रका समस्यामा परेका अभियन्ता, कार्यकर्ताहरूको पहिचान गरी सहयोग गर्ने पहल भइसकेको जानकारी पनि वत्तव्यमार्फत् दिएको छ ।
Categorized in उपत्यका