पक्रिएकालाई छोड्न गृहमन्त्रीलाई पनि भनिसक्यौं : मल्ल के सुन्दर
Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २२, सोमबार
काठमाडौं – रातो मछिन्द्रनाथ रथयात्राको क्रममा पक्राउ परेकालाई विनाशर्त रिहा गर्न गृहमन्त्रीसमक्ष माग राखिसकेको नेवार अगुवा मल्ल के. सुन्दरले बताउनुभएको छ ।
जनजातिखबरका प्रतिनिधिसँग कुराकानी गर्नुहुँदै सुन्दरले उक्त कुरा बताउनुभएको हो ।
मल्ल के. सुन्दरले यस सन्दर्भमा अन्य नेवार अगुवा, सांसद्, जनप्रतिनिधि एवं नेपालभाषा मंकाः खलःलगायतका संघसंस्थाका प्रतिनिधिहरुसँग छलफल भइरहेको र पक्राउ परेकाको तत्काल रिहाइको माग गृहमन्त्रीसमक्ष राखिसकेको जानकारी दिनुभएको छ । अब छिट्टै एउटा प्रतिनिधिमण्डलसहित गृहमन्त्रीसँग भेट नै गर्नजाने तयारी भइरहेको पनि सुन्दरले जानकारी दिनुभयो ।
राज्यसत्ताको मुख्य चरित्र अझै नेवार विरोधी नै रहेको जिकिर गर्दै राज्यको यस्ता क्रियाकलापले नेवार आन्दोलन र नेवार एकतामा पर्नसक्ने परिणामप्रति गम्भीर हुनुपर्ने विचार पनि सुन्दरले राख्नुभएको छ ।
यसैगरी, नेपालभाषा मंकाः खलःका अध्यक्ष एवं जनकवि दुर्गालाल श्रेष्ठले पुल्चोकको झडप आपराधिक एवं अराजक जत्थाबाट नभएको बताउनुभएको छ ।
श्रेष्ठले बताउनुभए अनुसार नेवार जात्रा, पर्व, संस्कृति, सम्पदा र प्रथाजन्य गुठी परम्परालाई स्वायत्तता दिलाउन आवाज बुलन्द गर्ने समुदाय पक्राउमा परेकाले श्रेष्ठले उनीहरुलाई विनाशर्त छोड्नुपर्ने माग पनि गनुभएको छ ।
रातो मछिन्द्रनाथ बुंगःद्यःको रथयात्राको क्रममा गत भदौ १८ गते पुल्चोकमा भएको झडपको क्रममा पक्राउ परेका सम्पदा अभियन्ताहरुलाई प्रशासनले अझै रिहा गरेको छैन ।
Categorized in उपत्यका