STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पत्रकार दबू ललितपुरको साधारणसभामा संस्कृति संरक्षणमा पत्रकारिता विषयक चर्चा

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ फाल्गुण २७, बिहिबार

पत्रकारिताको माध्यमबाट लोपोन्मुख संस्कृति, सम्पदा संरक्षणमा नेवाः पत्रकार राष्ट्रिय दबू ललितपुर शाखाले महत्वपूर्ण भूमिका निर्वाह गरेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

नेवाः पत्रकार राष्ट्रिय दबू ललितपुर शाखाको विहीबार जावलाखेलस्थित श्री उग्रचण्डीमाई ताम्रकार कुल देवता परिसर ताम्रकार समाजमा सम्पन्न आठौं वार्षिक साधारण सभाका वक्ताहरुले सो कुरा बताएका हुन् ।

सभाको उद्घाटन गर्दै नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष सुरजबीर बज्राचार्यले शाखाले ललितपुरको ठोस, सामाजिक सांस्कृतिक परिवेशमा लोपोन्मुख नवदुर्गा नाच गथुँ प्याखँ र पाय (खड्ग) जात्रा सञ्चालनका लागि पैरवी पत्रकारितासंगै संयोजनकारी भूमिका निर्वाह गरेकोमा सराहना गर्नुभयो ।

सो अवसरमा ताम्रकार समाजका अध्यक्ष रवीन्द्रराज ताम्रकारले भाषा, संस्कृति र सम्पदाप्रतिको संवेदनशीलतालाई पत्रकारिताको माध्यमबाट उठान गर्न शाखाले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गर्दैै ललितपुरका जातीय समाज र पत्रकारहरुबीचको एकजुट भएर ललितपुरलाई सांस्कृतिक नगरीको रुपमा विकास गर्न अघि बढ्नुपर्ने खाँचो औल्याउनुभयो ।

सभामा नेवाः पत्रकार राष्ट्रिय दबूका वरिष्ठ उपाध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले नेपालको पहिलो मातृभाषाको पत्रकार धर्मादित्य धर्माचार्यको योगदानलाई जनजनमा पु¥याउन र मातृभाषाको पत्रकारिताको विकासको लागि स्थानीय तहसंग मिलेर ठोस कार्यहरु गर्दै जानुपर्नेमा जोड दिनुभयो । पत्रकारिता क्षेत्रमा आदिवासी जनजाति महिलाहरु अझ कम रहेको उल्लेख गर्दै उपाध्यक्ष रचना श्रेष्ठले महिला पत्रकारहरुको संख्या बढाउनुपर्ने खाँचो औल्याउनुभयो ।

सो अवसरमा पत्रकार राष्ट्रिय दबूका केन्द्रीय महासचिव सुनील महर्जनले स्थानीय तहमा जनप्रतिनिधिविहीन हुँदा स्थानीय सरोकारको विषयमा प्रहरी प्रशासनसंगै स्थानीय निकायको ध्यानाकृष्ट गराउन शाखाले निर्वाह गरेको भूमिका आजका दिनमा झन् महत्व बढेको र पनि उतिकै खाँचो रहेको बताउनुभयो ।

ललितपुरलाई सांस्कृतिक नगरी भनिएपनि जात्रा, पर्व र सम्पदा क्षेत्रमा पर्याप्त बजे विनियोजित नगरेको तथ्य उल्लेख गर्दै महासचिव महर्जनले स्थानीय तहलाई जिम्मेवार बनाउन शाखाको भूमिका अझ प्रभावकारी हुनुपर्ने बताउनुभयो ।सभामा कोषाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठले पत्रकारहरु बिरामी वा दीर्घ रोग भएमा आर्थिक सहयोगको लागि खडा गरिएको अक्षयकोष रकम १५ लाखबाट बढाएर ५० लाख रुपैयाँ पुर्याउने प्रतिबद्धता दोहर्याउनुभयो ।

सो अवसरमा सचिव विकास मालीले प्रगति प्रतिवेदन र कोेषाध्यक्ष सुनील बज्रचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । स्वर्गीय अग्रज पत्रकार विक्रम शाक्यको स्मृतिमा एक मिनेट मौन धारण गरी शुरु गरिएको सो सभामा शाखाका अध्यक्ष सागर महर्जन, उपाध्यक्ष प्रशान्त माली र सहसचिव मञ्जु बज्राचार्य लगायतले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्दै पत्रकारितालाई आवाजविहीनको आवाज बनाउन शाखाले विगत आठ वर्षयता निर्वाह गरेको भूमिकाको निचोड निकाल्दै संस्कृति, सम्पदा संरक्षणमा ठोस काम गर्नु अहिलेको उपलब्धि रहेको बताएका थिए ।

Categorized in उपत्यका