पत्रकार र कर्मचारी सम्मानित
Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र १६, सोमबार
नेपाल निजामती कर्मचारी सङ्गठन झापाका पूर्वअध्यक्ष स्व प्रमोद तामाङको स्मृतिमा स्थापित पुरस्कारबाट शनिबार झापामा एक पत्रकारसहित तीन पुरस्कृत भएका छन् ।
सङ्गठनले स्थापना गरेको प्रमोद तामाङ स्मृति सुशासन पत्रकारिता पुरस्कारबाट रेडियो भिजनका प्रबन्ध निर्देशक गणेश पोखरेल पुरस्कृत हुनुभएको छ भने प्रमोद तामाङ स्मृति उत्कृष्ट राष्ट्रसेवक पुरस्कारबाट विर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पशुपति खतिवडा र शिवसताक्षी नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मी कमला पाण्डे पुरस्कृत हुनुभएको छ ।
महान्यायाधिवक्ता अग्नि खरेलले एक कार्यक्रममा उहाँहरुलाई नगद पुरस्कार र प्रमाणपत्र वितरण गर्नुभयो । पत्रकारिता पुरस्कारको नगद राशि रु सात हजार १०५ र राष्ट्रसेवक पुरस्कारको नगद राशि जनही रु १० हजार १५१ रहेको छ ।
सोही कार्यक्रममा उत्कृष्ट कर्मचारी पुरस्कारबाट श्रम तथा रोजगार कार्यालय भद्रपुरका सहयोगी रामप्रसाद मिश्र र पशु सेवा कार्यालय भद्रपुरका प्रावधिक छविलाल सुवेदीलाई पनि सम्मानित गरिएको थियो ।
–
Categorized in राष्ट्रिय


