STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पनामाको राष्ट्रपतिमा कोर्टिजो निर्वाचित

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख २३, सोमबार

मध्य अमेरिकी राष्ट्र पनामाका पूर्वमन्त्री लरेन्टिनो कोर्टिजो राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । पनामाको निर्वाचन ट्रिब्यूनलले राष्ट्रपति पदका दुई उम्मेदवारबीच झिनो मतान्तर रहेकाले अन्तिम चुनावी परिणाम घोषणा गर्न बाँकी रहेको जनाएको छ । सोसल डेमोक्राट पार्टीका कोर्टिजोले संवाददाताहरुसँग कुरा गर्दै चुनावी परिणामबाट आफू निकै खुशी रहेको बताउनुभयो । उहाँले मुलुकको विकासका लागि सबै पक्षको सकारात्मक सहयोग र एकता आवश्यक रहेको पनि बताउनुभयो । चुनावी मतसर्वेक्षणमा पनि कोर्टिजोले नै राष्ट्रपति पदमा निर्वाचित हुने देखाएका थिए । कोर्टिजोका अर्का प्रमुख प्रत्याशीमा पूर्व विदेश मन्त्री एवं डेमोक्राटिक चेन्ज पार्टीका अध्यक्ष रोमुलो रोउक्स हुनुहुन्थ्यो । चुनावी मतगणनामा स्वतन्त्र प्रत्यासी रिकार्डो लोम्बानाले पनि निकै राम्रो मत पाउनुभएको थियो । चुनाव ट्रिब्यूनलका अनुसार करिब ९१ प्रतिशत मतगणना सकिँदा कोर्टिजोले ३३ प्रतिशत र रोउक्सले ३१ तथा लोम्बानाले २० प्रतिशत मत पाउनुभएको छ । चुनावमा विजयीले राष्ट्रपति हुँवा कार्लोस भारेलालाई विस्थापन गर्नेछन् । पनामाको संविधानमा पाँच वर्षका लागि एक कार्यकाल मात्र राष्ट्रपति हुन पाइन्छ । ६६ वर्षीय कोर्टिजो पूर्व कृषिमन्त्री हुनुहुन्छ । “निटो” उपनामले बोलाइने कोर्टिजोले पनामाको उद्धार गरी रुपान्तरण गर्ने दृढता व्यक्त गर्नुभएको छ । भ्रष्टाचार, हत्याहिंसाजस्ता समस्याबाट पनामा वर्षौंदेखि आक्रान्त छ । राष्ट्रपतिको निर्वाचनसँगै जनताले ७१ जना संसद सदस्य, ८१ जना नगर प्रमुख तथा ७०० स्थानीय निकायका प्रतिनिधि छनौट गरेका छन् । सन् १९८९ मा संयुक्तराज्य अमेरिकाले सैनिक हस्तक्षेप गरी म्यानुएल नोरिएगालाई सत्ताच्यूत गरेपछि यो राष्ट्रपतिका लागि छैटौं निर्वाचन हो ।
Categorized in अन्तर्राष्ट्रिय