STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पर्यटकीय सिक्लेससम्मको सडक स्तरोन्नति शुरु

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण ५, आइतबार

नेपालको शान्ति प्रक्रियाको प्रस्थान विन्दुको रूपमा परिचित कास्कीको मादी गाउँपालिकामा अवस्थित पर्यटकीय सिक्लेस गाउँसम्म पुग्ने सडक स्तरोन्नति शुरु भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयमातहतको पूर्वाधार विकास कार्यालय कास्कीले पोखरा महानगरपालिका–१३ विजयपुर खोलादेखि मादी गाउँपालिका– १ सिक्लेससम्मको सडक स्तरोन्नति गरेर कालोपत्रे गर्ने कार्य अघि बढाएको हो । विसं २०६० मा सडकको ट्र्याक खुलेर गाडी गुड्न शुरु गरेको सिक्लेसम्मको ३२ किलोमिटरमध्ये हाललाई पहिलो चरणमा विजयपुर खोलादेखि थाकको उकालो क्यादुल्हेसम्मको १० किलोमिटर सडक स्तरोन्नतिका लागि निर्माण कम्पनीसँग सम्झौता भएर काम शुरु भएको गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङले बताउनुभयो । उहाँका अनुसार प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रमअन्तर्गत छनोट भएको सो सडक खण्ड स्तरोन्नतिका लागि गत वैशाख २० गते ठेक्का सम्झौता गरिएको थियो । रु २२ करोड २६ लाख ७८ हजार ८५३ लागतमा निर्माण गर्न लागिएको सो सडक दायाँबायाँ नालाबाहेक सात मिटर फराकिलो बन्ने बताइन्छ । विसं २०७८ वैशाख १९ गतेभित्रमा निर्माण सम्पन्न गर्ने गरी सपना÷काष्ठमण्डप जेभीसँग सम्झौता गरिएको गुरुङले जानकारी दिनुभयो । गाउँपालिकाभित्र अन्यत्र कहीँ पनि पक्की कालोपत्र सडक नभएको बताउँदै अध्यक्ष गुरुङले सो सडक स्तरोन्नतिपछि गाउँपालिकाको पहिलो कालोपत्रे सडक हुने बताउनुभयो । निर्माण कम्पनीले सडक फराकिलो बनाउने काम शुरु गरिसकेको र वर्षायाम सकिएलगत्तै तीव्रताका साथ काम गरिने वडा नं– ७ का वडाध्यक्ष लालबहादुर गुरुङको भनाइ छ । दश वर्ष लामो सशस्त्र सङ्घर्षको शान्तिपूर्ण अवतरणको प्रस्थान विन्दुका रूपमा सिक्लेस परिचित छ । तत्कालीन सशस्त्र विद्रोेहको नेतृत्व गर्नुभएका पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग तत्कालीन सरकारी वार्ता टोलीका संयोजक कृष्णप्रसाद सिटौलाले पहिलोपटक सिक्लेसमा वार्ता गर्नुभएको र त्यहीँबाट प्रचण्ड राजधानी काठमाडाँैमा पुगेर सार्वजनिक भएपछि देशमा शान्ति स्थापना भएकाले सिक्लेस गाउँ राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा परिचित भएको हो । सिक्लेसमा गतवर्ष निर्माण गरिएको शान्ति स्तम्भसहितको पूर्वाधार पर्यटकीय गन्तव्यका साथमा स्वदेशी तथा विदेशीका लागि नेपालको शान्ति प्रक्रियाको अध्ययनस्थलका रूपमा विकास भएकोमा बाटो स्तरोन्नति भएर कालोपत्रे गरिएपछि थप पर्यटक आगमन बढ्ने विश्वास गरिएको छ ।
Categorized in राष्ट्रिय