STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पहाड–मधेशलाई जोड्दै संस्कृत शिक्षा

Janjati Khabar – जनजाति खबर | २०७६ कार्तिक २७, बुधबार

संस्कृृत शिक्षा पढ्ने चाहले मधेश झरेका पहाडी दुर्गम जिल्लाका विद्यार्थीको महोत्तरीको मटिहानीमा बाक्लो उपस्थिति छ । मटिहानी नगरपालिका–७ स्थित राजकीय संस्कृत माध्यमिक विद्यालयमा पढ्न आउने विकट पहाडी जिल्लाका विद्यार्थीको आत्मीय व्यवहारले पहाड–मधेश सम्बन्ध प्रगाढ बनाउन सहयोग गरेको यहाँका बासिन्दा बताउँछन् । संस्कृत शिक्षा पढ्न पहाडबाट झरेका विद्यार्थी अनुशासित, सहृदयी र मिहिनेती रहेका मटिहानीवासीको ठम्याइ छ । फुर्सदका बेला बजार र बस्ती घुम्न निस्कने पहाडबाट झरेका विद्यार्थीको बोलीचाली बिनम्र र शिष्टाचारयुक्त हुने गरेको मटिहानी–७ का वडाध्यक्ष चन्देश्वर प्रसाद बताउनुहुन्छ । मटिहानी विगतदेखि नै संस्कृत शिक्षा अध्ययनको खास थलोका रूपमा परिचित छ । दुर्गम पहाडी जिल्लाबाट आउने एउटाको सम्पर्क सूत्रले त्यताबाट विद्यार्थी थपिने गरेका छन् । कक्षा–८ देखि १२ सम्म पठनपाठन हुने यस विद्यालयमा अहिले दुर्गम पहाडी जिल्ला दैलेखका मात्रै २० विद्यार्थी छन् । पश्चिम नेपालको विकट पहाडी जिल्लाबाट मध्यपूर्वी तराईको भारतीय सीमावर्तीस्थित मटिहानी झरेका विद्यार्थी यसै ठाउँमा जन्मीहुर्की बढेका जस्तो उमेर बहिक्रमअनुसारको नाता लगाएर बोल्ने गरेका स्थानीय सामाजिक, राजनीतिक कार्यकर्ता राजकिशोर मण्डलको भनाइ छ । विसंं २०६२ मा संस्कृत शिक्षाको मोहले दैलेखको दुल्लुबाट आएका विद्यार्थी देवर्षी नेपालले शिक्षाका लागि नेपाल–भारत सीमाक्षेत्र दशगजाबाट १०० मिटर दूरीभित्रको यो विद्यालयमा जोडेका साइनोले त्यसयता त्यहाँबाट ५० भन्दा बढी विद्यार्थी आइसकेका विद्यालयका प्राचार्य ईश्वरी पौडेल बताउनुहुन्छ । “हुन त अन्य पहाडी जिल्लाबाट पनि विद्यार्थी आएकै छन्, तर दैलेखको साइनोचाहिँ विशेषजस्तै लाग्छ”, प्राचार्य पौडेल भन्नुहुन्छ, “शिक्षाप्रतिको लगाव, मिहिनेत र अनुशासनको कुरामा पनि दैलेखका विद्यार्थी अब्बल छन् ।” विकट पहाडी जिल्लाबाट पढ्न मधेशको पनि भारतसँगै सीमा जोडिएको बस्तीमा आएका फरक मातृभाषी यी विद्यार्थीको सङ्गतबाट मटिहानीका सर्वसाधारण पनि फरक भाषा, संस्कृतिसँग परिचित हुुने गरेका पौडेल बताउनुहुन्छ । पहाडी विद्यार्थीसँगको हेलमेलले मटिहानीसँगै जोडिएको भारतीयबजार मधवापुरमा पनि नेपाली भाषा बुझ्ने बोल्ने प्रशस्त भेटिन्छन् । त्यसैगरी पहाडी विद्यार्थी पनि मिथिलाको स्थानीय भाषा मैथली बोल्न पोख्त भएका छन् । विसं १७७५ मा स्थापित भनिने यो विद्यालयको प्रामाणिक अभिलेख भने विसं १८८२ देखिको भेटिएको छ । दैलेखको दुल्लुबाट आएका १० कक्षामा अध्ययनरत छात्र दीपक कार्की विद्यालयका गुरुजन र स्थानीय बासिन्दाको स्नेह एवं अध्ययनअनुकूल विद्यालय अनुशासनले सधैँ ऊर्जावान बनाइराख्ने बताउनुहुन्छ । दीपकका एकाघर सगोलकै दुई दाजुले संस्कृत शिक्षामा उच्चतहको अध्ययन मटिहानीबाटै पूरा गरिसकेका छन् । सञ्चारकर्मीको टोली विद्यालय परिसर पुग्दा दैलेखको दुल्लुकै किशोर नेपाल, हृदयेन्द्र खड्का, प्रकाश भण्डारी, खगेन्द्र भण्डारी, टङ्क थापा, दिनेश पौडेल र विवेक कार्कीसहितका विद्यार्थी भेटिएका छन् । दुल्लु र मटिहानीको यो सम्बन्ध र सम्पर्कको सूत्रधार भने दुल्लु निवासी विद्यालयका पूर्वविद्यार्थी देवर्षी नै भएको त्यहाँ भेटिएका छात्रले बताएका छन् । “हामीलाई मटिहानीको बाटो देवर्षीले बताउनुभयो”, अहिले विद्यालयमा कक्षा–१२ मा अध्ययनरत किशोर नेपालले भन्नुहुन्छ, “अध्ययन सकेर विभिन्न पेशामा लागिसकेका र अहिले अध्ययनरत जोड्दा पछिल्लो १२÷१३ वर्षमा हाम्रो बस्तीका ५० भन्दा बढी संस्कृत शिक्षाकै लागि मटिहानीसँग जोडिइसकेका छौँ ।” राजकीय संस्कृत माध्यमिक विद्यालयसँगै जोडिएर भगवान् लक्ष्मीनारायण र महामुनि याज्ञबल्क्यका नाउँमा स्थापित याज्ञबल्क्य लक्ष्मीनारायण विद्यापिठ ९संस्कृत क्याम्पस० मा स्नातक तहसम्मको उच्च शिक्षा गर्न पाएपछि यहाँ पढ्न आउने विद्यार्थीलाई थप सजिलो भएको छ । विद्यालय परिसरमा पुग्ने विशिष्ट पाहुनाको स्वागतमा बटु ९छात्र०हरु बैदिक मन्त्रोच्चारणले न्यानो स्वागत र स्वस्तिवाचन गर्छन् । विद्यालयको दैनिक तालिकामा बाँधिएको नियमले सबैलाई अनुशासनमा बाँधेको दैलेखको दुल्लुकै बासिन्दा १२ कक्षाका छात्र प्रेमप्रसाद पोखरेल बताउनुहन्छ । “बिहान उठ्ने, नित्यकयाबाट निवृत्त हुने, योगाभ्यास गर्ने, दैनिक रुद्री पाठ गर्ने, खाने, कक्षामा जाने, गृहकार्य गर्ने, घुम्ने, खेलकूद गर्ने र रात्रि विश्रामसम्मका सबै कामका निश्चित समय तालिका बाँधिएको छ”, पोखरेल बताउनुहुन्छ, “हामी यो तालिकामा अभ्यस्त भइसकेका छौँ ।” विद्यालयमा आयोजन हुने अतिरिक्त क्रियाकलापमा वक्तृत्वकला, गायन र मनोरञ्जनात्मक कार्यक्रम पनि समाविष्ट छन् । “नमस्ते रुद्र मन्याय।।।।” खरर रुद्री पाठ गर्ने यस विद्यालयका कक्षा–८ का छात्र युवराज न्यौपाने बेदका ऋचा कण्ठस्त भन्नमात्र नभएर गायन र वक्तृत्व क्षमतामा पनि उत्तिकै कुशल देखिनुहुन्छ । सिन्धुपलाञ्चोकको बाह्रबिसे–२ का १२ वर्षीय न्यौपाने एकपटक सुनेकै भरमा अङ्ग्रेजी, स्पेनिस, संस्कृत, हिन्दी र नेपाली गीत कण्ठस्त गाएर सुनाउन अभ्यस्त नै देखिनुहुन्छ । “म कक्षा–८ मा पढ्दैछु, आर्य संस्कृतिको प्राचीन भाषा संस्कृत पढ्ने अभिलाषाले यहाँ आइपुगेको हुँ”, न्यौपानेले विद्यालय पुगेका सञ्चारकर्मीसँग भन्नुहुन्छ, “संस्कृतको संवद्र्धन पढ्नेले मात्र गर्ने कुरा होइन, सबैले ध्यान दिन जरुरी छ ।” केही दशक पहिलेसम्म ब्राह्मण जातिका लागि मात्र शिक्षाको अवसर रहेको यो विद्यालयमा अहिले सबै समुदायका छात्र÷छात्रा पढ्न पाउने भएका छन् । अहिले विद्यालयमा दैलेखबाहेक सिन्धुपलाञ्चोक, ओखलढुङ्गा, खोटाङ, रामेछाप र दोलखासहितका पहाडी जिल्लाका एवं केही भारतीय विद्यार्थी पनि अध्ययनरत छन् । यसबाहेक महोत्तरीसहितका तराई क्षेत्रका विद्यार्थी रहेका विद्यालयले जनाएको छ । यद्यपि विद्यालयमा विद्यार्थीको उल्लेख्य सङ्ख्या भने पहाडले नै भर्ने गरेको शिक्षक बताउँछन् । अन्य विद्यालयमा कक्षा ९ देखि माध्यमिक तह मानिए पनि यहाँ भने कक्षा ८ लाई नै माध्यमिक तहमा राखिएको छ । अहिले विद्यालयका कूल १२२ विद्यार्थीमध्ये छात्राको सङ्ख्या ३२ रहेको प्राचार्य पौडेलले जानकारी दिनुभयो । अन्य माध्यमिक विद्यालयमा जस्तै पठनपाठन हुने अनिवार्य विषयका अतिरिक्त अनिवार्य संस्कृत र ऐच्छिक विषयमा संस्कृतभित्रका साहित्य, ज्योतिष, बेद, ब्याकरण, न्याय र कर्मकाण्डमध्ये दुईवटा विषय पढ्नुपर्ने व्यवस्था छ । दुई दशक पहिलेसम्म भरिभराउ विद्यार्थी हुने यो विद्यालयमा संस्कृततर्फको रुचि घट्दै गएर विद्यार्थी सङ्ख्या पातलिएको प्राचार्य पौडेलको ठम्याइ छ । विद्यालयमा अध्ययन गर्ने ४४ छात्रछात्रालाई गुठी संस्थानले मटिहानीस्थित लक्ष्मीनारायण गुठीमार्फत खानावापत दाल, चामल दिए पनि सागसब्जी, मसला, तेलभुटुन र इन्धनवापत प्रतिव्यक्ति मासिक रु १५० मात्र दिँदै आएको छ । संस्कृत अध्ययनतर्फ रुचि बढाउन थप सुविधा विस्तार गर्नुपर्नेमा दशकौँअघिको यो व्यवस्थाले छात्रावास सञ्चालन निकै गाह्रो काम बनेको प्राचार्य पौडेल बताउनुहुन्छ । टाढाटाढाबाट पढ्न आउने विद्यार्थीका लागि खाट, ओढ्ने ओछ्याउने लुगा र खाना व्यवस्थापनको कुरासम्म माङ्चाङबाटै चलेको प्राचार्य पौडेलको भनाइ छ । धेरैजसो अत्यन्त निर्धन परिवारका छात्रछात्रा नै आफ्नो विद्यालयका छात्रछात्रा रहेको पौडेल बताउनुहुन्छ । बालगुरु षडाननले समेत शिक्षा लिएका मानिने यो विद्यालय तश्मैया बाबा ९तश्मैया नाउँका साधक, मुनि० ले स्थापना गरेर यसको सञ्चालन व्यवस्था गुठीबाट हुने व्यवस्था मिलाएका बताइन्छ । पछिल्लो समय शिक्षा मन्त्रालय, गुठी संस्थान र अन्य सम्बद्ध निकायको उदासिनताले पूर्वीय दर्शन र प्राचीन साहित्य अध्ययनको यो थलो क्रमशः आकर्षणविहीन बन्दै गएको मटिहानीकै बासिन्दा एवम् प्रेस स्वतन्त्रता सेनानी ८० वर्षीय बिन्देश्वरीप्रसाद मण्डल बताउनुहुन्छ । यहाँका बिद्वत वर्गले राजकीय संस्कृत माध्यमिक विद्यालय र याज्ञबल्क्य लक्ष्मीनारायण बिद्यापिठको संरक्षण र संवद्र्धनमा सङ्घीय, प्रादेशिक र स्थानीयसहितका सरकारले चासो बढाउनुपर्ने माग गरेका छन् ।
Categorized in राष्ट्रिय