STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पहिरो रोकथाम गर्न पहल

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ११, बुधबार

त्रिवेणी नगरपालिकामा प्राकृतिक प्रकोपले ठूला समस्या निम्त्याएपछि रोकथामका विभिन्न प्रयासहरु थालनी गरिएको छ । पहिरो, बाढी, खडेरी र आगलागीजस्ता प्राकृतिक प्रकोपको समस्या भए पनि यस नगरपालिकामा पहिरोको समस्या बढी देखिएको छ ।
त्रिवेणीको ८० प्रतिशत बढी भूभाग पहिरोको जोखिममा रहेको भूगर्भविद्को आँकलन रहेको छ । पहाड खसेका, थुम्का बनेका, पहिरोले खसेर पहाड तथा खोल्सा बनेकाजस्ता दर्जनाँै अवशेष नगरभित्र देखिएको भूगर्भविद् डा राजनकुमार दाहालको भनाइ छ ।
वर्षेनी आउने पहिरोले धनजनको क्षति हुने र भूमिको समेत नोक्सानी हुने हुँदा कृत्रिम रोकथाम विधिलाई अघि सारिएको नगर प्रमुख रामसिंह रावलले बताउनुभएको छ । नगरपालिकाले नेपाल रेडक्रस सोसाइटी, युनिसेफसँगको सहकार्य र कन्जरभेसन ग्रुपको प्राविधिक सहयोगमा कृत्रिम रोकथाम शुरु गर्ने प्रमुख रावलले जानकारी दिनुभयो ।
 
यसै आर्थिक वर्षबाट पहिरो नियन्त्रणको लागि आवश्यक बजेटसहित काम शुरु गर्ने तयारी नगरपालिकाले गरेको छ । नगर क्षेत्रका नौ वडामध्ये दुईबाहेक सबै वडामा पहिरोको उच्च जोखिम रहेको प्राविधिक प्रतिवेदनमा उल्लेख रहेको छ ।
 
नगर कार्यपालिकास्तरीय छलफल गरेरै योजना अघि सारेको उपप्रमुख राधिका सुनारले बताउनुभयो । पहिरो रोकथामको सबै प्रकारको प्राविधिक सहयोगका लागि हिमालय कन्जरभेटिक प्रालिसँग समझदारी नै गरिसकेको छ । बस्ती अध्ययनदेखि, समुदाय परामर्शको कामको जिम्मेवारी रेडक्रसले लिने भएको छ ।   
नगरपालिकाले पहिलो चरणमा प्रत्येक सडकमा पानी कटानका लागि नहर निर्माण गर्ने, सडकमा अनिवार्य नहर निर्माण गर्ने नीति अघि सारेको छ । अति जोखिममा रहेका साविकका कैलाशमाडौँ र छतारा गाविस क्षेत्रमा पहिलो चरणमा काम थालनी गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र साउदको भनाइ छ । 
Categorized in राष्ट्रिय