पाँचौं काठमाडौं सर्ट फिल्म फेस्टामा म्हपुजा पुरस्कृत
Janjati Khabar – विजयरत्न असंबरे | २०७८ भाद्र १, मंगलबार
छायाँछबि क्रियशनको आयोजनामा नियमित सम्पन्न हुँदै आइरहेको पाँचौ काठमाण्डौ सर्ट फिल्म फेस्टा –२०२१को अवार्ड कार्यक्रम सम्पन्न भएको छ । यस पटक काठमाण्डौ सर्ट फिल्म फेस्टा कोरोना महामारीका कारण केहि पछि मात्र आयोजना गर्न सकिएको र कोरोनाका कारण सानो स्तरमा आयोजना गर्न परेको कुरा आयोजक संस्था छायाँछबिका अध्यक्ष शान्तिप्रिले बताउनु भएको छ ।
पाँचौ काठमाण्डौं सर्ट फिल्म फेस्टा पुरस्कार वितरण समारोहमा चलचित्र विकाश बोर्डका अध्यक्ष दयाराम दाहाल प्रमुख अतिथिका रुपमा रहनु भएको थियो । प्रमुख अतिथिको आसनबाट बोल्दै दाहालले चलचित्र उद्योगको वर्तमान अवस्था र चलचित्रको बिकासमा अब के गर्नु पर्छ भन्ने विषयमा आफ्नो धारणा राख्नु भएको थियो । यस्तै समारोहमा वरिष्ठ चलचित्र लेखक,निर्देशक एवं नेपाल चलचित्र कलाकार संघका उपाध्यक्ष मोहन निरौला, वरिष्ठ अभिनेता धिरेन शाक्य एवं अवार्ड जुरी संयोजक ऋषि लामिछाने विशिष्ट अतिथिका रुपमा रहनु भएका थिए ।
समारोहमा आयोजक संस्था छायाँछबि क्रियशनका अध्यक्ष शान्तिप्रियले स्वागत मन्तव्य राख्दै सर्ट फिल्म फेस्टा तथा फिल्मी खबर सबिन स्मृति रङ्ग पत्रकारिता पुरस्कारका बारेमा प्रस्ट्याएका थिए । उहाँले कोरोना महामारीका कारण कार्यक्रम ढिलो आयोजना गर्नु परेको बताउनु भयो । पाँचौ पटक आयोजना गरिएको सर्ट फिल्म फेस्टा विगत देखि हरेक दुइ/दुई वर्षमा आयोजना हुँदै आएकोमा आगामी दिनमा हरेक वर्ष प्रदान गरिने पनि जानकारी गराउनु भयो । समारोहमा सभापतित्व प्रविशा प्रकाशनप्रा.लिका अध्यक्ष बरिष्ठ चलचित्रकर्मी एवम् राप्रपाका नेता प्रदिपकुमार उदयले गर्नु भएको थियो ।
पाँचौं काठमाडौं सर्ट फिल्म फेष्टामा सहभागी सर्ट फिल्म तथा डकुमेन्ट्री मध्ये पुरस्कृत चलचित्रकर्मीलाई सो समारोहमा अवार्ड प्रदान गरिएको थियो । नवराज बु्ढाथोकी निर्देशित हाउस हजवेण्डले इन्करेजमेण्ट अवार्ड, लक्ष्मण सुबेदी निर्देशित मेहन्दीको रङ्गलाई बेष्ट कन्सेप्ट स्कृप्टको अवार्ड दिपेन्द्र लामा निर्देशित सावधानलाई पब्लिक च्वाइस अवार्ड, सरोज खनाल निर्देशित बिहानीमै अस्ताएको सूर्यलाई जुरी अवार्ड, कल्याण अधिकारीलाई सर्ट फिल्म निर्देशकको अवार्ड, पुरन जोशी निर्देशित म्हपुजालाई उत्कृष्ट डकुमेण्ट्री एवम् अभिनव श्रेष्ठ निर्देशित स्वीट सिक्सटिनलाई उत्कृष्ट सर्ट फिल्म अवार्ड प्रदान गरिएको थियो ।
यसै समारोहमा बरिष्ठ रंग पत्रकार सविन शाक्यको स्मृतिमा स्थापित एवम् फिल्मी पत्रिका फिल्मी खबरको नाममा स्थापना गरिएको फिल्मी खबर–सविन स्मृति रङ्ग पत्रकारिता पुरस्कार समेत प्रदान गरियो । १० हजार १० रुपैयाँ सहितको यो पुरस्कारमा विगत डेढ दशक देखि रंग पत्रकारितामा संलग्न रही समग्र चलचित्र, संगीत एवम् यस क्षेत्रको विकास योगदान पुर्याए वापत सुमन बैरागीलाई प्रदान गरिएको थियो ।
समिर लामाले गर्नु भएको यो समारोहमा सर्ट फिल्म फेष्टाका जुरीहरु प्रवण भुषाल, सुवास बुढाथोकी, रेनिस फागो, गोपाल ढकाल एवम् जुरी संयोजक ऋषि लामिछानेलाई धन्यवाद स्वरुप प्रमाण पत्रप्रदान गरिएको थियो ।
Categorized in सिनेमा

