पाटनमा विश्वशान्तिको कामना गर्दै नृसिंह जात्रा सम्पन्न
Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र ४, बुधबार
अर्थात्, यो गाईजात्रा पर्वसँगै सम्बन्धित हो। उपाकर्म गुठी, ललितपुरले यस जात्राको जिम्मा लिन्छ। काठमाडौं र भक्तपुरमा पनि उपाकर्म गुठी भए पनि पाटनमा मात्र यसरी उपाकलं सायाः निकालिन्छ।
उपत्यकाका द्यःभाजु राजोपाध्याय ब्राह्मणले चलाउँछ, उपाकर्म गुठी। ज्येष्ठताका आधारमा पाटनको उपाकर्म गुठीको पालोवालाले नृसिंह जात्रा निकाल्ने गर्छन्। यसपटकका पालोवाला थिए, हेरम्बराज राजोपाध्याय।
उनकै घर सुलिह्मस्थित हनुमानननिबाट दिउँसो निकालिएको थियो, नृसिंह जात्रा।
नृसिंह हुने पहिलो अधिकार हुन्छ, पालोवाला घरको ज्वाइँको। यसैअनुसार यसपटक नृसिंह भए, महेश शर्मा। उनी पुरातत्त्व विभागका कर्मचारी हुन्।
नृसिंह हुने व्यक्तिले चोखो भई, दिनभर भोको रही यात्राभर मन्त्र जप्छन्।
देवी लक्ष्मी–सरस्वती र १२ जना अप्सरालाई भने यो नियम लाग्दैन। लक्ष्मी–सरस्वती भएका थिए, ८ वर्षीय प्रश्रित शर्मा र ६ वर्षीय अनिरुद्ध शर्मा। त्यसै गरी, भक्त प्रह्लाद पनि पालोवाला घरकै हुने परम्पराअनुसार ५ वर्षीय अपूर्व राजोपाध्याय भएका थिए।
नेपाल भाषामा भजन अघि बढ्छ–
गुबलें काली रूप उकिं
मधुकैटभ ल्यूने लुयाहल
यस यात्राका नृसिंहलाई तान्त्रिक मतमा कालीको रूप पनि मानिन्छ। नृसिंहले यात्राभर पछाडि घिसार्दै लग्ने दुई पुतलालाई मधु र कैटभ मानिन्छ। कसैले यसलाई हिरण्याक्ष–हिरण्यकश्यपु पनि भन्दछन्।
अर्को भजन नेपाल भाषामै सुरु हुन्छ –
थौंयागु पावन दिवस, विश्व शान्तिया कामना याना
नरसिंहया भजने वनेनु, नरसिंहया शरणे वनेनु
अर्थात्, यस पावन दिवसमा विश्वशान्ति कामना गर्दै नृसिंहको भजन गरौं, शरणमा जाऔं।
दिउँसो स्वनिह्मबाट सुरु यात्रा नकबहिः, क्वाल्खु, झटापोल, कुम्भेश्वर, कोबहाः, स्वथः, मंगलबजार, सौगल, सुन्धारा, ओकुबहाः, चक्रबहिः, टंगल, हौगल, तिच्छुगल्ली, इखालखु, जेनबहाः, वला, पूर्णचण्डी, गाबहाः, प्यंगःथां, पिम्बहाः हुँदै राति पुनः स्वनिह्ममा पुगेर टुङ्गिएको थियो
Categorized in सिनेमा


