पाटन क्याम्पसमा भएको झडपमा अनेरास्ववियुका ४ जना नेता घाइते
Janjati Khabar – Janjati Khabar | २०८१ चैत्र ६, बुधबार
काठमाडौं - पाटन संयुक्त क्याम्पसमा भएको झडपमा अनेरास्ववियुका ४ जना नेता घाइते भएका छन् ।
स्ववियु निर्वाचनको विषयलाई लिएर विवाद भएपछि नेविसंघ र अनेरास्ववियुका नेता कार्यकर्ताहरूबिच झडप भएको थियो । झडपका क्रममा अनेरास्ववियुका नेताहरू दिनेश श्रेष्ठ र पवन शाही गम्भीर घाइते भएका हुन् । त्यस्तै राजीव अधिकारी, समिक राई लगायतका नेताहरू समेत घाइते भएका छन् ।
अनेरास्ववियु अध्यक्ष समिक बडालले फर्जी मतदाता बनाएर मतदान गराएकोमा त्यसलाई रोक्न खोज्दा नेविसंघले आक्रमण गरेको बताए ।
फर्जी मतदाता सिर्जना गर्ने र गुण्डागर्दीमा संलग्नहरूलाई कडा कारबाही गर्न माग गरे । गुण्डागर्दी बन्द गर्न र नगरे अनेरास्ववियु कडा भन्दा कडा प्रतिवादमा उत्रिने चेतावनी दिए ।
फर्जी मतदातालाई मतदान गर्न दिएको विषयमा विवाद उठेपछि पाटन क्याम्पसमा १०० जनाले मतदान गरेपछि स्थगित भएको थियो ।
त्यसपछि विवाद समाधान गर्ने विषयमा सर्वपक्षीय छलफल गरिएको थियो । तर, छलफलबाट कुनै निष्कर्ष निस्किन सकेको थिएन । पाटनमा निर्वाचन प्रक्रिया स्थगित भएको छ ।
नेविसंघ र अनेरास्ववियुबीच कुटाकुट
पाटन संयुक्त क्याम्पसमा नेविसंघ र अनेरास्ववियुका विद्यार्थीहरूबिच कुटाकुट भएको छ ।
स्ववियु निर्वाचनका लागि फर्जी मतदाताले मतदान गरेको भन्दै विवाद सिर्जना भएपछि मंगलबार दुई संगठनका नेता तथा कार्यकर्ताबिच कुटाकुट भएको हो । एक जना विद्यार्थीको विद्यार्थी परिचयपत्रमार्फत सात जनासम्मले मतदान गरेको पाइएपछि विवाद सिर्जना भएको थियो ।
१०० जना विद्यार्थीले मतदान गरिसकेपछि विवाद सिर्जना भएर मतदान प्रक्रिया रोकिएको थियो । विवाद समाधान गर्न सर्वपक्षीय बैठक बसिरहेका बेला बाहिर नेविसंघ र अनेरास्ववियुका कार्यकर्ताबिच कुटाकुट भएको हो ।
निर्वाचन परिसर तनावग्रस्त बनेपछि यतिबेला निर्वाचन समितिको बैठक बसिरहेको छ भने अनेरास्ववियु लगायतका विद्यार्थी संगठनहरूले मतदान प्रक्रियामा सहभागी नहुने घोषणा गरेका छन् । उनीहरूले निर्वाचन समितिलाई ज्ञापनपत्र बुझाउँदै मतदान प्रक्रियाबाट बाहिरिएको घोषणा गरेका हुन् ।
नेविसंघ लगायतका अन्य विद्यार्थी संगठनहरूले भने हार्ने डर भएपछि अनेरास्ववियुले चुनाव विथोल्न खोजेको आरोप लगाएका छन् ।
Categorized in राजनीति

