पाठकमाझ आएको 'एक रातको बास’
Janjati Khabar – विजयरत्न असंबरे | २०८२ भाद्र १८, बुधबार
नियात्रासंग्रह ‘फकलीको गाउँ’, कथासंग्रह ‘मार्बल हाउसकी शालिनी’, हास्य-निबन्धसंग्रह ‘चिबे-नकटो’ र उपन्यास ‘वनिता’ जस्ता कृतिहरू प्रकाशित गरिसक्नुभएका साहित्यकार लेखनाथ पोखरेलको नवीनतम् कृति कथा संग्रह ‘एक रातको बास’ पाठकमाझ आएको छ । यसका उहाँको नियात्रासंग्रह ‘फकलीको गाउँ’ अंग्रेजी संस्करणमा पनि आएको छ ।
२०८ पृष्ठमा फैलिएको यस संग्रहमा जम्मा १५ कथा समावेश छन् । ‘कोरली, नियतिको खेल, पोल्टाको सिन्दूर, पहाडे मनई आइटा, सुनयना, लच्छुकी घरवाली, एक रातको बास, पराई सुख, सन्त्रास, माखे सांगलो, तिमीबाहेक, म को हुँ ?, आश्रम, आफलेको ठाँडो र यो पनि झुट हो !’ शीर्षकमा रहेका यी कथामध्ये ‘एक रातको बास’ कथाबाटै पुस्तकको शीर्षक राखिएको छ । पत्रकार कृष्ण भुसालले सम्पादन गर्नुभएको यस संग्रहमा ‘वृद्धको डायरी’लाई कथाक्रम भन्दा अलग्गै राखेर प्रस्तुत गरिएको छ ।
महाकाव्यकार खेमनाथ दाहालका शब्दमा, ‘यस संग्रहमा समावेश कथाहरू गहन, जीवन्त र मार्मिक छन् । हास्य-व्यंग्य, स्मृति, जीवनशैली र प्रकृतिप्रतिको प्रेमलाई लेखकले कथा निर्माणका औजारका रूपमा प्रयोग गर्नुभएको छ । विशेषतः ग्रामीण सामाजिक संरचना, मानवीय सम्बन्ध र संवेदनालाई लेखकले आफ्ना कथामा सूक्ष्म तरिकाले उतार्नु भएको छ ।’
यसमा समावेश कथाहरूले मनोरञ्जनसँगै जीवनबोध र सामाजिक यथार्थको गहिरो अनुभूति प्रदान गर्ने उपन्यसकार तथा विश्व कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ बताउनुहुन्छ । सरल भाषा, प्रभावकारी शिल्प र संवेदनशील विषयवस्तुले यो कृति पठनीय रहेको उहाँको भनाइ छ ।
निरन्तर सिर्जनशील यात्रामा अग्रसर पोखरेलको यो कृति नेपाली कथासाहित्यमा थप योगदान स्वरूप आएको छ भन्नेमा साहित्यिक वृतमा सर्वसम्मति देखिन्छ । मोबाइल किताब प्रा.लि.ले डिजाइन तथा छपाइ गरेको यो पुस्तक कलात्मक आवरणसहित प्रकाशित गरिएको छ । यस कृतिको मूल्य ४५० रुपैयाँ राखिएको छ ।
Categorized in साहित्य-कला

