STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पूर्वराज्यमन्त्रीको हत्या : पाहुनाहरू शंकाको घेरामा

Janjati Khabar – Janjati Khabar | २०८१ श्रावण ७, सोमबार

मलंगवा - धान रोपाई गराउन सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नं. १ पुगेका पूर्व भूमि सुधार राज्यमन्त्री रामचन्द्र रायको आइतबार राति हत्या गरिएको छ।

मलंगवा नगरपालिका वडा नं. ४ का ८० वर्षीय रायको उखुँ काट्ने धारिलो हतियारले हत्या गरिएको छ। ३ जनाको समूहमा आएका अज्ञात व्यक्तिहरूले रायको हत्या गरेका हुन्। रायको करिब साढे ११ बजे राति हत्या भएको प्रहरीको अनुमान छ। राय उक्त घरमा सहयोगी रामउजैन रायको साथमा बस्दै आएका थिए।

गाउँमा भोज खाएर घर फर्केका रायलाई भेट्न करिब ८ बजे ३ जना आएको उनका सहयोगीले बताएका छन्। उनीहरू कुरा गर्न थालेपछि आफू सुत्न छतमा गएको सहयोगोको भनाइ छ। 'शौच गर्नका लागि करिब १२ बजे छतबाट तल आउँदा राय सुत्ने कोठा खुला देखेँ। टर्च बालेर हेर्दा रगतले लतपत भएको अवस्थामा रायलाई देखेपछि स्थानीयबासी र परिवारजनलाई फोन गरेको सहयोगले मागे,' सहयोगीले भनेका छन्। 

रायको टाउकोको बायाँ भागमा हतियार प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए। उनका सहयोगीसँग अहिले जिल्ला प्रहरी कार्यालय मलंगवामा सोधपुक्ष भइरहेको छ। घटनाको सुक्ष्म तरिकाले अनुसन्धान भइरकेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए। 

हत्या गर्न प्रयोग गरिएको हतियार घरभन्दा केही मिटर पर बाँसको झाङमा फेला परेको प्रहरीले जनाएको छ। तालिम प्राप्त कुकुर ल्याएर पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। हत्या के कति कारणले भएको हो त्यो अहिले खुल्न सकेको छैन।

राय करिब एक हप्तादेखि निरन्तररूपमा त्यहाँ धान रोपाई गराउनका लागि बस्दै आएको परिवारका एक सदस्यले बताएका छन्। आइतबार रोपाईको पैसा तिर्नका लागि पैसा लिन उनी मलंगवा आएका थिए। साँझसम्म मलंगवामै बसेका राय बेलुकी पख रतनपुर गएका थिए। राय २०५४ सालमा सूर्यबहादुर थापाको प्रधानमन्त्रीकालमा भूमिसुधार राज्य मन्त्री बनेका थिए। रायको श्रीमती, २ छोरा र ५ छोरी छन्। उनको शव अहिले प्रादेशिक अस्पताल मलंगवामै राखिएको छ। 

Categorized in अपराध-दुर्घटना