STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पेनाल्टी सुटआउटमा जापानलाई हराउँदै क्रोएसिया क्वार्टरफाइनलमा

Janjati Khabar – Janjati Khabar | २०७९ मङ्सिर १९, सोमबार

काठमाडौं - फिफा विश्वकपको अन्तिम १६ अन्तर्गत सोमबार पेनाल्टी सुटआउटमा जापानलाई पराजित गर्दै साविक उपविजेता क्रोएसिया विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ।

अल जानोब रंगशालामा जारी जापान र साविक उपविजेता क्रोएसियाबीचको खेल निर्धारित/अतिरिक्त समयमा १–१ गोलको बराबरीपछि पेनाल्टी सुटआउटमा पुगेको थियो। सुटआउटमा जापान दुर्भाग्यशाली साबित हुँदा क्रोएसिया १–३ ले विजयी भयो।

डाइजेन माइदाले ४४औं मिनेटमा गोल गर्दै एसियाली मुलुकलाई अग्रता दिलाएका थिए।

कप्तान माया योसिडाले दिएको पासलाई पेनाल्टी एरिया भित्र चनाखो भएर बसेका माइडाले गोलमा परिणत गरेका हुन्। समूह चरणका जर्मनी र स्पेनलाई पराजित गर्दै नकआउट चरणमा पुगेको जापानले पहिलो हाफमा महत्त्वपूर्ण अग्रता लिएको थियो।

तर, ५५औं मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई बराबरीमा फर्काएका हुन्। डेजान लोभरेनले दिएको क्रसलाई पेनाल्टी एरिया भित्रबाट हेडरमार्फत पेरिसिचले गोलमा परिणत गरेका थिए।

जापानका लागि ताकुमी मिनामिनोले प्रहार गरेको पहिलो पेनाल्टी डोमिनिक लिभाकोभिचले बचाएका थिए। क्रोएसियाका निकोला भ्लासिचले भने पहिलो पेनाल्टीलाई गोलमा परिणत गरे।

क्वारो मिटोमाले जापानका लागि प्रहार गरेको दोस्रो पेनाल्टी पनि क्रोएसियन गोलकिपरले बचाएका थिए। क्रोएसियाको तेस्रो पेनाल्टी मार्सेलो ब्राजोभिचले गोलमा परिणत गरेका थिए। जापानका लागि तेस्रो पेनाल्टी प्रहार गरेका ताकुमा असानोले पहिलो गोल गरेका थिए।

क्रोएसियाका लागि मार्को लिभायाले गरेको प्रहार पोस्टमा लागेर फर्किएको थियो। जापानी कप्तान माया योसिडाले जापानका लागि प्रहार गरेको चौथो पेनाल्टीमा पनि क्रोएसियन गोलकिपर लिभाकोभिच बाधक बन्दा मार्को पासालिचलेको प्रहार निर्णायक बनेको थियो। उनले गरेको गोलसँगै क्रोएयियाले अन्तिम आठमा स्थान सुरक्षित गर्यो।

क्रोएसियालेले सोमबार राति नै हुने ब्राजिल र कोरियाबीचको खेलको विजेतासँग सेमिफाइनल प्रवेशका लागि खेल्ने छ। सन् २०१४ मा समूह चरणबाटै बाहिरिएको जापान लगातार दोस्रो पटक अन्तिम १६ मा पुगेको हो।

जापान चार वर्षअघि रुसमा भएको विश्वकपको अन्तिम १६ मा बेल्जियमसँग पराजित हुँदै बाहिरिएको थियो। क्रोएसिया भने फाइनलसम्म पुगेर फ्रान्ससँग पराजित हुँदा उपविजेतामा सीमित भएको थियो।

Categorized in खेलकुद