STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पोखरामा विपद् प्रतिकार्य अभ्यास

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ ५, आइतबार

नेपाली सेना र युस आर्मी प्यासिफिकको संयुक्त आयोजनामा आजदेखि पोखरामा विपद् प्रतिकार्य अभ्यास र सहयोग आदानप्रदान कार्यक्रम शुरु भएको छ ।
 
कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेपाली सेनाका विपद् व्यवस्थापन निर्देशनालयका निर्देशक सहायक रथी जीतबहादुर गुरुङले अमेरिका, बेलायत, थाइल्याण्ड, मङ्गोलिया, श्रीलङ्का, बङ्गलादेशलगायत विभिन्न १३ राष्ट्रका प्रतिनिधिलाई आमन्त्रण गरिएको जानकारी दिनुभयो ।
 
उहाँका अनुसार ‘सप्ताहव्यापी कार्यक्रममा विपद् व्यवस्थापन’ विषयक प्रस्तुति, समूहगत छलफलका साथै विपद् प्रतिकार्यका विभिन्न अभ्यास गरिनेछ । नेपाली सेना र युएस आर्मी प्यासिफिकको सहकार्यमा सन् २०११ देखि हालसम्म चार वटा विपद् प्रतिकार्य अभ्यास र सहयोग आदानप्रदान कार्यक्रम भएको जानकारी दिँदै उहाँले प्रादेशिक संरचनामा पहिलोपटक पोखरामा यस किसिमको अभ्यास गर्न लागिएको बताउनुभयो ।
 
युएस आर्मी प्यासिफिकका मेजर जोनाथन सायरले कार्यक्रमबाट विपद् जोखिम न्यूनीकरणमा महत्वपूर्ण सहयोग पुग्ने धारणा राख्नुभयो । यस अभ्यासमा सरोकारवाला निकायका प्रतिनिधिसहित कूल २२० जना प्रतिनिधि सहभागी हुने आयोजकले जनाएको छ ।
 
कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले भौगोलिक अवस्थितिसमेतका आधारमा नेपाल प्राकृतिकरुपमा विपद् जोखिमयुक्त क्षेत्र भएको बताउँदै यहाँका सम्भावित जोखीम न्यूनीकरणमा यस किसिमका अभ्यास उपयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो ।
 
नेपालले विसं २०७२ मा ठूलो भूकम्पको प्रकोप व्यहोरेको र त्यसका कारण सामाजिक, आर्थिक क्षेत्रमा ठूलो असर पारेको उल्लेख गर्दै उहाँले प्रादेशिकस्तरमा गरिएको यो प्रतिकार्य अभ्यासको कार्यक्रम उपलब्धिपूर्ण बन्ने विश्वास व्यक्त गर्नुभयो ।
 
नेपाली सेनाका बलाध्यक्ष रथी गौरव तण्डुलले संयुक्तरुपमा गरिने यस किसिमका प्रतिकार्य अभ्यासले विपद् जोखिम न्यूनीकरण एवं व्यवस्थापनमा महत्वपूर्ण सहयोग पुर्‍याउने बताउनुभयो । 
Categorized in राष्ट्रिय