प्रचण्डको अभिव्यक्तिप्रति विश्व हिन्दू परिषद्को ध्यानाकर्षण
Janjati Khabar – Janjati Khabar | २०७९ आश्विन २, आइतबार
काठमाडौं - विश्व हिन्दू परिषद्, नेपालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
अध्यक्ष प्रचण्डले शनिबार विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा आयोजित राष्ट्रिय विज्ञान दिवस कार्यक्रममा हिन्दू धर्मलाई आघात पुग्नेगरी अराजक टिप्पणी गरेको भन्दै हिन्दू परिषदले उक्त टिप्पणी अक्षम्य, निन्दनीय र दूर्भाग्य भएको ध्यानाकर्षण गराएको छ ।
‘समाजमा ३३ कोटी देवतालाई पूजा गर्दै हिँड्ने तर मानिसलाई लात हान्दै हिँड्ने प्रचलन रहेको भनेर समग्र हिन्दू ध्रर्मप्रति आस्थावान नेपाली जनमानसको उपहास गरेका छन्,’ आइतबार परिषद्ले जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘बहुसंख्यक जनताहरुको धार्मिक आस्था एवं मनोभावना माथि ठाडो प्रहार गर्दै अभद्र टिप्पणी गर्नु अक्षम्य, निन्दनीय एवं दूर्भाग्यपूर्ण रहेको छ ।’
परिषदले अध्यक्ष प्रचण्डले यसरी हिन्दूविरोधी वक्तव्य दिइनुले विधर्मी शक्तिद्वारा परिचालित रहेको पनि स्पष्ट भएको आरोप लगाएको छ । साथै, धार्मिक, सांस्कृतिक र संवैधानिक मर्यादालाई आघात गरेर सामाजिक सद्भावनामाथि कुठाराघात हुने प्रयासप्रति सचेत रहन तथा कारबाही भागेदारको माग पनि गरेको छ ।
Categorized in राजनीति

