प्रचण्ड छाड्ने नेतालाई मन्त्री पद
Janjati Khabar – Janjati Khabar | २०७७ पौष ११, शनिबार
काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को साथ छाडेका ६ जना नेतालाई मन्त्रीपरिषदमा स्थान मिलेको छ ।
शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद पुनर्गठन गर्दा ६ पूर्वमाओवादी नेता मन्त्री बनेका छन् । टोपबहादुर रायमाझी, मणि थापा, गौरीशंकर चौधरी, प्रभु शाह र दावा तामाङलाई मन्त्री र विमला विकलाई राज्यमन्त्री बनाउँदै प्रधानमन्त्री ओलीले मन्त्रीपरिषद् हेरफेर र विस्तार गरेका छन् ।
प्रतिनिधिसभा विघटन गरेपछि ७ मन्त्रीले राजीनामा दिएसँगै नेकपा फुटको वैधानिकता पर्खिरहेको छ । प्रचण्ड माधव समूह छाड्दै ओली समूहमा समर्थन दिएका नेताहरुलाई प्रधानमन्त्रीले साथ लिँदै मन्त्री पद दिएका हुन ।
नवनियुक्त मन्त्रीहरुलाई शुक्रबार साँझै राष्ट्रपति कार्यालयमा सपथ ग्रहण गराइएको छ ।
ओलीले केहीको जिम्मेवारी हेरफेर गरेका छन् । यसअघि कानुनमन्त्री रहेकी शिवामाया तुम्बाहाम्फेलाई भूमिसुधार मन्त्रालय पठाइएको छ भने भूमिसुधार मन्त्री रहेकी पद्मा अर्याललाई कृषि मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
यता सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हालेका हृदय त्रिपाठीलाई स्वास्थ्य मन्त्रालयको जिम्मा दिइएको छ भने स्वास्थ्यमन्त्री रहेका भानुभक्त ढकाललाई पर्यटन मन्त्रालयको जिम्मेवारी तोकिएको छ । महिला तथा बालबालिका मन्त्री रहेका लीलानाथ श्रेष्ठ कानुनमन्त्री बनेका छन् भने शहरी विकासमन्त्री रहेका कृष्ण गोपाल श्रेष्ठ शिक्षा मन्त्री बनेका छन् ।
युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगडलाई भने ओलीले हटाएका छन् ।
Categorized in राजनीति

