प्रचारप्रसारको अभावमा बालासिद्ध मन्दिर ओझेलमा
Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र २, सोमबार
यहाँ आएर मागेका कुरा पूरा भएपछि धेरैले विश्वास गरी पटकपटक मन्दिरमा पुजाआजाका लागी आउने गरेको उहाँले बताउनुभयो । ओढारमा रहेको देवताको थानमा दुध चढाउनेको बढी घुईचो यहाँ लाग्ने गर्दछ । कालीगण्डकीको किनार नजिकै ओढारमा रहेको यस मन्दिरको प्रचार प्रसार हुन नसक्दा ओझेलमा परेको मन्दिर संरक्षण समितिका सदस्य डिलप्रसाद लुईटेलले बताउनुभयो ।[/caption]
“कालीगण्डकीको करिडोर र कालीनदीको बिच भागमा रहेकाले यसलाई प्रसिद्ध धार्मिक तीर्थस्थलका रुपमा विकास गर्न सकिन्छ, सम्बन्धित निकायले संरक्षणमा बेलैमा नै चासो नदिँदा यो मन्दिर ओझेलमा परेको छ”, उहाँले भन्नुभयो ।
अहिले ओढारलाई संरक्षण गरी मन्दिर आकारमा संरचना निर्माण गरेपछि पूजाआजा गर्न सहज भएको छ । श्रीपञ्चमी, ठूलो एकादशी, वैशाखे सङ्क्रान्ती, माघे सङ्क्रान्ति लगायतका पर्वमा यहाँ ठूलो मेला लाग्छ । मागेका कुरा पुग्ने भएपछि पाल्पा, स्याङ्जा, तनहुँ, रुपन्देही, नवलपरासी लगायतका विभिन्न स्थानका भक्तजन ठूलो सङ्ख्यामा मन्दिरमा आउने गरेको स्थानीयवासी यमनाथ पाठकले बताउनुभयो ।
आजभन्दा पाँच सात वर्ष अगाडिसम्म मन्दिरमा दूध चढाउन तथा पूजाआजा गर्नका लागि बास बसेरै भए पनि भक्तजन पुग्ने गर्थे । दैनिक १०० भन्दाबढीले मन्दिरमा दर्शन गरेर फर्कने गर्थे । अहिले सडक सुविधा पुगेपछि मन्दिरमा आउन जान सजिलो भएको छ । कालीगण्डकीमा स्नान गरेर सिधै मन्दिरमा पूजाआजा गर्न सहज हुने भएपछि अघिल्लो दिन बास बस्न पुग्ने गरेको स्थानीय बुढापाका बताउँछन् ।
अहिले भने सवारी साधनमा आएर मन्दिर दर्शन गरेर फर्कने गर्छन् । यस मन्दिरमा विवाह, व्रतबन्ध, रुद्री पूजालगायतका हिन्दू संस्कारका विभिन्न धार्मिक कार्य हुने गर्छ । मन्दिरमा भाकल गरेर मागेको कुरा पुगेपछि अर्कोपटक आउँदा नगद दान, मन्दिरका लागि आवश्यकपर्ने विभिन्न पूजाका सामग्री चढाउन आउने गरेको पाइएको छ । मन्दिरको भौतिक संरचना निर्माणका लागि स्थानीय टोपलाल भट्टराई र गङ्गाधर भट्टराईले तीन रोपनी, मित्रलाल पाठकले साढे एक रोपनी जग्गा सहयोग गर्नुभएको छ । मन्दिरमा अहिले पूजारी पद्मराज पोखरेलले दैनिक पूजापाठ र रेखदेख गर्दै आउनुभएको छ ।
ओढारलाई संरक्षण गरी पूजाआजा व्यवस्थापनका लागि भौतिक संरचना, होमकुण्ड निर्माण गरिएको छ । साविक हेक्लाङ्ग गाउँ विकास समिति र रामपुर नगरपालिकाले पनि यसको व्यवस्थापनमा सहयोग गरेको छ । मन्दिरमा हालसम्म रु २५ लाख बराबरको काम भइसकेको समितिले जनाएको छ । कालीगण्डकीको किनार नजिकै रहेकाले पनि यो क्षेत्रको प्रचारप्रसार तथा भौतिक संरचना विकास गर्न सकेको खण्डमा धार्मिक पर्यटकीय गन्तव्यस्थल बन्नेछ । यसलाई कालीगण्डकी वेंशीकै महत्वपूर्ण धार्मिक क्षेत्रका रुपमा पनि लिइन्छ ।
Categorized in राष्ट्रिय


