प्रदेशमा नेपालभाषा र तामाङ्ग भाषालाई कार्यान्वयनमा ल्याइने
Janjati Khabar – विजयरत्न असंबरे | २०८१ चैत्र १२, मंगलबार
ताम्रकार समाजको २० सौं बार्षिक साधारणसभामा एसईई, उच्च माध्यमिक तह, स्नातक तह, स्नातकोत्तर तह उत्तीर्ण गरेका करीब सय जना बिद्यार्थीहरु सम्मानित भएका छन् । त्यसका साथै शंखमूल निवासी ८० बर्षीय शेषराज तमोट तथा उनकी धर्मपत्नी इन्द्रकुमारी ताम्रकार लगायत करीब बीस जना ज्याःजंक्वः (रथारोहण) सकेका जेष्ठ नागरिकहरु पनि सोही अवसरमा सम्मानित भएका छन् । त्यस्तै पाटनमा जन्मेर हाल काभ्रेको पनौतीमा बसोबास गर्दै आइरहनु भएका साहित्यकार,लेखक, गीतकार ध्रबकृष्ण ताम्रकार उग्रचण्डी प्रतिभा सम्मानबाट नगद पुरस्कार सहित सम्मानित भएका छन् ।
ताम्रकार समाजको २६ औं सामुहिक भेला तथा २० औं बार्षिक साधारणसभाका प्रमुखअतिथि बागमति प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले सामाजिक क्षेत्रमा ताम्रकार समाजबाट गरिदैं आइरहेको कार्यहरुको उच्च प्रशंसा गर्दै बागमति प्रदेशमा पारित भइसकेको नेपालभाषा र तामाङ्ग भाषालाई सरकारी कामकाजको भाषा बनाउने लाइ कार्यान्वयन तहमा लैजाने प्रतिवद्धता ब्यक्त गर्नु भयो ।
विशिष्ट अतिथि ललितपुर महानगरपालिकाका उपमेयर मञ्जरी शाक्य बज्राचार्यले नगरका अन्य समाजहरु तथा संघसंस्थाहरुका लागी ताम्रकार समाज प्रेरणाको श्रोत बनेको उल्लेख गर्दै महानगरपालिका सदैव महानगरबासीहरुको हकहितको लागी लागिपरेको बताउनु भयो । सभाका सभापति ताम्रकार समाजका अध्यक्ष बिनोद ताम्रकारले ताम्रकार समाज विगत लामो समय देखि बिभिन्न सामाजिक कार्यहरुमा संलग्न रहदै आइहरेको तथा नगरको संस्कृति, सम्पदा, भाषा आदिको संरक्षण सम्वद्र्घनका लागि नगरका अन्य संघसंस्थाहरु संग सहकार्य गर्दै आइरहेको बताउनु भयो ।
उक्त कार्यक्रममा समाजका दाताहरु लाई कदरपत्र तथा आजिवन सदस्यहरु लाई प्रमाणपत्र पनि वितरण गरिएको थियो । सो कार्यक्रममा समाजका निबर्तमान अध्यक्ष रबिन्द्रराज ताम्रकार, बागमति प्रदेशका प्रदेश सदस्य रामकृष्ण चित्रकार, ललितपुरका प्रहरी प्रमुख एसएसपी श्यामकृष्ण अधिकारी, अनुसन्धान निर्देशक रमेशचन्द्र यादब, समाजका पूर्व अध्यक्षहरु, सल्लाहकारहरु, बिभिन्न जातिय समाजका अध्यक्षहरु, संघ संस्थाका अध्यक्षहरु, समाजका सदस्यहरु तथा बिद्यार्थीहरुको सहभागिता रहेको थियो । साधारणसभाको बन्दसत्रमा समाजका महासचिब दिपेश ताम्रकारले बार्षिक कार्यप्रतिबेदन, कोषाध्यक्ष बिमल ताम्रकारले आयब्यय बिवरण प्रस्तुत गर्नु भएको थियो । समाजका उपाध्यक्ष शम्भुगोबिन्द ताम्रकारले उपस्थित सबैलाइ धन्यबाद ज्ञापन गर्नु भएको थियो ।
Categorized in उपत्यका

