STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २८, मंगलबार

‘सबैका लागि रोजगार, संवैधानिक अधिकार’ भन्ने मूल नारा साथ तनहुँको बन्दीपुर गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको छ । नागरिकलाई न्यूनतम रोजगारीको अवसर सिर्जना गर्ने लक्ष्यसहित शुरु भएको प्रधानमन्त्री रोजगार कार्यक्रमको आज बन्दीपुर गाउँपालिका–२ मोहोरियामा गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले नाला निर्माणको शुभारम्भ गर्नुभयो ।
अध्यक्ष थापाले विकास सँगसँगै रोजगारी दिने सरकारको कार्यक्रम सकारात्मक रहेको चर्चा गर्दै बेरोजगारको सूचीमा सूचीकृत भएकालाई गाउँपालिकाको विकास निर्माणमा खटाइने बताउनुभयो । उहाँले भन्नुभयो, “आगामी वर्ष गाउँपालिकाले सञ्चालन गर्ने आयोजनामा पनि बेरोजगार सूचीमा सूचीकृतलाई खटाउँछाँै ।”
प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले बन्दीपुर गाउँपालिका–१ स्थित पिप्ले गुर्दुम नाला निर्माण, बन्दीपुर गाउँपालिका–२ स्थित गुर्दुम बन्दीपुर नाला निर्माण तथा बन्दीपुर गाउँपालिका–४ स्थित तीनधारे पर्यटकीय पुन्टे खोला नाला निर्माण योजनामा ४१ जनालाई रोजगारमा खटाइएको जानकारी दिनुभयो । 
उहाँले भन्नुभयो, “पारिश्रमिकमा आधारित सामुदायिक आयोजना सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७६ पारित एवं लागू भइसकेको हुँदा सोही कार्यविधिमा आधारित भई सञ्चालन गर्न सम्भावित श्रमप्रधान आयोजनामा बेरोजगारलाई खटाएका छौँ ।”
रोजगारमा खटिनेलाई दैनिक करसहित रु ६२५ प्रदान गरिने रोजगार सेवा केन्द्र प्रमुख शरणसिं गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार न्यूनतम रोजगारीको लागि सरकारले चालू आर्थिक वर्षमा बन्दीपुरलाई रु ११ लाख विनियोजन गरेको छ । जसअनुसार पिप्ले गुर्दुम नाला निर्माणमा खटिनेलाई रु चार लाख, गुर्दुम बन्दीपुर नाला निर्माणमा खटिनेलाई रु चार लाख र तीनधारे पुन्टे खोला नाला निर्माणमा खटिनेलाई रु तीन लाख पारिश्रमिक दिइनेछ ।
बन्दीपुर गाउँपालिकामा ६१४ ले न्यूनतम रोजगारीमा संलग्न हुनका लागि निवेदन दिएका थिए । अन्यलाई समेत आगामी वर्षका योजनामा काममा खटाउने गाउँपालिकाको तयारी छ ।
Categorized in राष्ट्रिय