प्रमुख पदमा सन्तोषनजक स्थान नआएको एमालेको निष्कर्ष
Janjati Khabar – Janjati Khabar | २०७९ जेठ ३१, मंगलबार
काठमाडौं- नेकपा (एमाले) को सचिवालयको नवौँ बैठकले स्थानीय तह चुनावमा पार्टीले प्रमुख पदहरूमा सन्तोषजनक स्थान हासिल गर्न नसकेको निष्कर्ष निकालेको छ । त्यसको गम्भीर समीक्षा गर्दै आगामी कार्यभारका लागि केन्द्रित रहने निर्णय एमालेले गरेको छ ।
पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा सोमबार भएको बैठकबारे जानकारी दिँदै एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले निर्वाचन जनताको सार्वभौम अधिकार प्रयोग गर्ने उच्चतम थलो भएकाले परिणाम स्वीकारिने बताए ।
३४ प्रतिशत लोकप्रिय मतसहित एमाले ठूलो दलका रूपमा अगाडि आएको ज्ञवालीको दाबी छ । स्थानीय तहका प्रमुख र अध्यक्षहरूमा एमालेले पाएको मत सन्तोषजनक नरहनुमा सत्ता गठबन्धन र एमालेको आन्तरिक कारण रहेको विषयमा छलफल भएको उनले बताए ।
समयमा उम्मेदवार चयन, आकाङ्क्षीहरूको सही व्यवस्थापन र निर्वाचन परिचनामा कुशलता हसिल नभएका आन्तरिक कारण रहेको उनले बताए । केही ठाउँमा घात अन्तर्घात भएकाले प्रमाणित भएका अन्तर्घातमा संलग्नलाई सम्बन्धित कमिटीले कारबाही गर्ने र आगामी अभिभारामा केन्द्रित हुने तय भएको उनले जानकारी दिए ।
सचिवालय बैठकले आउँदो असार २ र ३ गते काठमाडौंमा पार्टीका तर्फबाट निर्वाचित प्रमुख, अध्यक्षसहित जनप्रतिनिधिलाई स्थानीय तहका अधिकार क्षेत्र, नीति कार्यक्रम तर्जुमा गर्दा समृद्ध नेपाल र समृद्ध नेपालको आधार निर्माण, जनप्रतिनिधि र जनताको सम्बन्ध आदिबारे अध्यक्ष केपी शर्मा ओली, महासचिव शङ्कर पोखरेलसहितले प्रशिक्षण दिने कार्यक्रम पनि तय गरेको छ ।
बैठकले केही विभागहरुको गठन र पूर्णता दिएको छ ।
Categorized in राजनीति

