STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्राविधिक शिक्षा सञ्चालन गर्न महायज्ञ

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख २३, सोमबार

जनमार्ग माध्यमिक विद्यालय पूर्वखोला गाउँपालिका–१ सिलुवा पाल्पामा प्राविधिक शिक्षा सञ्चालन गर्न श्रीमद्भागवत धनधान्याञ्चल विराट नवाह ज्ञानमहायज्ञ आजबाट शुरु हुँदैछ । महायज्ञमा पण्डित नारायण न्यौपानेबाट सङ्गीतमय शैलीमा कथावाचन हुनेछ । महायज्ञ यही वैशाख ३१ गतेसम्म हुनेछ ।
विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको हो । दुर्गम क्षेत्रमा अवस्थित यस क्षेत्रका विद्यार्थी प्राविधिक शिक्षा अध्ययन गर्न अन्यत्र जानुपर्ने बाध्यता छ । वडाभित्रमा सञ्चालित एकमात्र मावि तहको यस विद्यालयमा महायज्ञबाट सङ्कलित दान रकम प्राविधिक शिक्षामा लगानी गरी गाउँमै बसेर प्राविधिक शिक्षा पढ्ने वातावरण तयार पार्न महायज्ञ सञ्चालन गरिएको महायज्ञ मूल आयोजक समितिका संयोजक गिरमान आले बताउनुहुन्छ ।
महायज्ञ अवधिभर रु एक करोड ५० लाखदेखि दुई करोडसम्म दान सङ्कलन गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । प्राविधिक शिक्षा सँगसँगै महायज्ञबाट सङ्कलित रकम भौतिक पूर्वाधारमा खर्च गरिने बताइएको छ । भौतिक पूर्वाधार अभावका कारण झट्टै नै प्राविधिक शिक्षा सञ्चालन गर्न नसकिएको विद्यालयले जनाएको छ ।
कक्षा १२ सम्म अध्यापन हुँदै आएको यस विद्यालयमा पर्याप्त कक्षाकोठा नहुँदा पठनपाठनमा विद्यालयले सास्ती खेप्नुपरेको छ । कक्षाकोठाको अभावमा हाल कक्षा बाल विकासदेखि १, २ र ३ का विद्यार्थी विज्ञान प्रयोगशाला, पुस्तकालय, कहिले खुल्लाचौरलगायतका स्थानमा राखेर शिक्षण गर्न बाध्य भएको प्रधानाध्यापक श्यामबहादुर दिशाले बताउनुभयो । 
विद्यालयमा लागत सहभागितामा निर्मित सात वटा, पुस्तकालय, पुरानो परियोजनाको भवन गरी १९ कोठा रहेका छन् । हाल चार कोठे भवन निर्माणको क्रममा रहेको छ भने थप १० कोठा आवश्यक रहेको विद्यालयले जनाएको छ । हाल यस विद्यालयमा ५५० विद्यार्थी भर्ना भएका छन् भने गत शैक्षिक सत्रमा ५१० विद्यार्थी रहेका थिए ।
Categorized in राष्ट्रिय