STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

फोहर नउठाउँदा नगरक्षेत्र दुर्गन्धित

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ ३१, शुक्रबार

लामो समयदेखि फोहर नउठाउँदा सिरहाको प्रमुख व्यापारिक केन्द्र लहान नगरक्षेत्र दुर्गन्धित बनेको छ । विगत एक महीनादेखि लहान नगरपालिकाले लहान क्षेत्रमा फोहर नउठाउँदा फोहरको डङ्गुरले पूर्वपश्चिम राजमार्ग क्षेत्रसहित बजार क्षेत्र दुर्गन्धित बनेको हो । 
लहानस्थित गुदरी बजार, शिव मन्दिर, साप्ताहिक हाटबजार, सवारी साधन पार्किङस्थल र सडक छेउछाउमा फोहरको डङ्गुरले सर्वसाधारण नाक थुनेर हिँड्न बाध्य भएका छन् ।
लहान नगरपालिका–४ स्थित रहेको फोहर व्यवस्थापन केन्द्रमा वडावासीले फोहर फाल्न रोक लगाएपछि नगरपालिकाले बजारमै फोहर छाड्दा यस्तो अवस्था सृजना भएको स्थानीयवासीको भनाइ छ । 
गत वैशाख ३१ गते नगरपालिकाका सरसफाइ कर्मचारी फोहर व्यवस्थापन गर्न केन्द्रमा जाँदा स्थानीयवासीले अवरोध गरेका थिए । त्यहाँका स्थानीयवासीले यहाँ फालिएको फोहरले आफूहरुको स्वास्थ्यमा समस्या भएको भन्दै अवरोध गरेका थिए । त्यही क्रममा कर्मचारी र स्थानीयवासीबीच घम्साघम्सी परेको थियो । 
त्यसपछि कर्मचारीले बजारमा कुचो लगाउने, तर फोहर नउठाउने गरेकामा गत जेठ ८ गतेबाट कुचोसमेत लगाउन छाडेपछि सडकमा फोहर थुप्रिएको छ । फोहरबाट मोहर निकाल्ने नारा दिँदै ०७१ सालमै उक्त फोहर व्यवस्थापन केन्द्र स्थापना गरिए पनि बजारको फोहर लगेर व्यवस्थापन केन्द्रमा जथाभावी फाल्दा दिनदिनै दुर्गन्ध बढेपछि वडावासीले अवरोध गरेको स्थानीयवासी अनिलकुमार शर्माले बताउनुभयो । 
बस्तीमा दुर्गन्ध बढ्दै गएपछि स्थानीयवासीले गुनासो गरेको लहान नगरपालिका–४ का वडाध्यक्ष रामनाथ पण्डितको भनाइ छ । लहान नगरपालिकाका प्रमुख मुनि साहले पहिलेदेखि फालिँदै आएको फोहरमैला व्यवस्थापन केन्द्रमा एक्कासि फोहर फाल्न अवरोध गरेर फोहरमा राजनीति गर्न खोजिएकाले यस्तो अवस्था सृजना भएको बताउनुभयो ।
फोहर व्यवस्थापन केन्द्रमा नगरपालिकाको सरसफाइ कर्मचारीले प्रत्येक दुई महीनामा खाल्डो खनेर फोहर व्यवस्थापन गर्दै आएको बताउँदै प्रमुख साहले विवाद उत्पन्न गराएर समस्या बल्झाएको आरोप लगाउनुभयो । फोहरमैला व्यवस्थापन केन्द्रमा फोहर व्यवस्थापन गर्न नदिएकाले नगरक्षेत्रको फोहर कहाँ फ्याल्ने भन्ने समस्या भएर फोहर नउठाएको प्रमुख साहको कथन छ । 
फोहर प्रशोधन गर्ने मेशिन खरीदका लागि नगरपालिकाले रु ७० लाख बजेट विनियोजन उहाँले जानकारी दिनुभयो । 
Categorized in राष्ट्रिय