फोहोर बोक्ने सवारीमाथि तोडफोडप्रति मेयर बालेनको आपत्ति
Janjati Khabar – Janjati Khabar | २०७९ श्रावण २४, मंगलबार
काठमाडौं - बन्चरे डाँडा ल्यान्डफिल क्षेत्रमा फोहोर बोकेर गएका गाडीहरूमाथि तोडफोड भएपछि काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र साह बालेनले यस घटनाप्रति कडा प्रतिक्रिया दिएका छन् ।
मंगलबार सामाजिक सञ्जालमार्फत कानुनीरुपमा फोहोर बोक्ने साधनहरुमाथि तोडफोड जघन्य अपराध भएको भन्दै फोहोर व्यवस्थापनलाई निष्कर्षमा पुग्न नदिन चलखेल भएको मेयर बालेनले प्रतिक्रिया दिएका छन् ।
मेयर बालेनले फोहोर बोक्ने साधनहरुमाथि तोडफोड गर्नेहरुलाई कानुन बमोजिम कडा भन्दा कडा कारबाही हुनुपर्ने पनि माग गरेका छन् । साथै, तोडफोड गर्नेहरुबाट नै यसको भरपाइ तथा क्षतिपूर्ति गराउनुपर्ने पनि उनले भनेका छन् । यसका लागि महानगरले सम्बन्धित संयन्त्र तथा निकायहरुसँग समन्वय गरिरहेको पनि उनले बताएका छन् ।
उनले लेखेका छन्, "फोहोर व्यवस्थापनमा प्रयोग हुने साधनहरुको तोडफोड भएको छ । फोहोर व्यवस्थापनलाई निष्कर्षमा पुग्न नदिन गरिएको पछिल्लो चलखेलका रुपमा हामीले यसलाई लिएका छौँ । कानुनीरुपमा पनि फोहोर बोक्ने साधनहरुको तोडफोड जघन्य अपराध हो । कानुन बमोजिम अपराधीहरुलाई कडा भन्दा कडा कारबाही हुनै पर्छ भन्नेमा महानगर स्पष्ट छ । तोडफोड गर्नेहरुबाट नै यसको भरपाइ तथा क्षतिपूर्ति गराउनु पर्छ । यसका लागि महानगरले सम्बन्धित संयन्त्र तथा निकायहरुसँग समन्वय गरिरहेको छ ।"
Categorized in उपत्यका

