STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बन्दुकसहित अवैध चोरी शिकार गर्ने तीन पक्राउ

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण १, बुधबार

अवैध चोरी शिकारको आरोपमा तीन पक्राउ परेका छन् । जङ्गली जनावर चित्तलको शिकार गरी लुकाइछिपाई राखेको अवस्थामा एकनाले बन्दुकसहित श्यामलाल थारूलाई पक्राउ गरिएको छ । बर्दियाको बारबर्दिया नगरपालिका–१० लम्कीफाँटा बस्ने थारूले जङ्गली जनावर चित्तलको शिकार गरी लुकाइछिपाई राखेको भन्ने सूचना प्राप्त भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालय ठाकुरद्वारा बर्दियाबाट खटिई गएको संयुक्त टोलीले घर खानतलासी गर्दा निजको घरबाट उक्त वस्तु फेला परेको हो । थारुको किराना पसलबाट चित्तलजस्तो देखिने जङ्गली जनावरको ४।३ लम्बाइ, २।१० चौडाइ, बीचमा आधा इन्च गोलाइ भएको दुई प्वाल रहेको छाला एक थान, दुई स्टिलको बाटासहितको मासु १२ केजी, एक फिट लम्बाइ भएको फलामको खुँडा एक थान फेला परेको प्रहरीले जनाएको छ । त्यसैगरी बारबर्दिया नपा–७ हरनहवा बस्ने ५४ वर्षीय सीताराम थारूको घरबाट भरुवा एकनाले बन्दुक एक थान, स्टिलको बाटासहित जनावरको मासु छ केजीसहित बरामद भएको छ । सोही ठाँउ बस्ने ५० वर्षीय रामफल थारूलाई दुई केजी जनावरको मासुसहित पक्राउ गरिएको पनि प्रहरीले जनाएको छ ।
Categorized in अपराध-दुर्घटना