बल्खु चोकमा राप्रपा कार्यकर्ताको शक्ति प्रदर्शन
Janjati Khabar – Janjati Khabar | २०८१ चैत्र २६, मंगलबार
काठमाडौं - राप्रपा बागमती प्रदेश कमिटीले काठमाडौँको बल्खुमा आयोजना गरेको खबरदारी सभामा बोल्दै त्यस पार्टीका नेताहरूले आफूले भनेजस्तो समझदारी गर्न तयार नभए आन्दोलन जारी राख्दै बालुवाटारको भातपानी बन्द गर्ने, नेताहरूको घर घेर्ने तथा बंगलादेश र श्रीलंका बनाउनेसम्मको धम्की दिएका हुन् ।
सभामा सम्बोधन गर्ने नेताहरूको आक्रोश व्यवस्था भन्दा पनि सरकारको नेतृत्व गर्ने दलका नेताहरूको कार्यशैलीले देश बर्बाद भएको भन्दै कार्यशैली नसुधारेसम्म विश्राम नलिने उद्घोष गरे । कांग्रेस, एमाले र माओवादीलगायत सबैलाई ओली, देउवा र प्रचण्डबाट अब देश नबन्ने थाहा भएकाले उनीहरूलाई जति दिन राख्यो त्यति नै देश बर्बाद हुने राप्रपा नेताहरूको भनाइ छ ।
खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले ओली देउवा र प्रचण्डबाट देश सच्चिने र लिकमा आउने कुनै पनि सम्भावना नरहेको दाबी गरे ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले फोहोर गरेको भन्दै पत्र नकाट्न काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई आग्रह गरेका छन् । बल्खुमा आयोजित सभाको फोहोर आफूहरूले नै सफा गर्ने भन्दै उनले हिरो भएर पत्र नकाट्न आग्रह गरे । उनले सूचना सुनाए, “बालेनजीलाई आजको कार्यक्रमका बारेमा धेरै हिरो भएर पत्र नकाट्न आग्रह गर्छु । हाम्रो साथीहरूलाई आफैँ सफा गरेर जान आग्रह गर्छु । केही पनि फोहोर रहनेछैन ।”
फोहोर गरेबापत् यसअघि राप्रपाले महानगरलाई जरिवाना तिर्नुपरेको थियो ।
दुर्गा प्रसाईँलाई प्रहरीले नै भगाएको आरोप लगाउँदै लिङ्देनले प्रहरी प्रमुख युवा संघको सहअध्यक्ष रहेको गम्भीर आरोप लगाए ।
खबरदारी सभालाई सम्बोधन गर्दै पूर्वअध्यक्ष पशुपति शमशेर राणाले मुलुक कुशासन र भ्रष्टाचारले ग्रस्त भएको टिप्पणी गरे ।
अर्का नेता डा. प्रकाशचन्द्र लोहनीले नेपालमा रावणहरूको शासन रहेको आरोप लगाए । उनले रावणहरूको शासनले नै देशलाई कमजोर बनाएकाले त्यसलाई मुक्त गर्नुपर्ने धारणा राखे ।
यसअघि फागुन १५ मा राजवादीहरूले गरेको प्रदर्शन हिंसात्मक बनेपछि राप्रपाले आफ्नै नेतृत्वमा अभियान अगाडि बढाउने निर्णय गरेको थियो । आजको प्रदर्शनलाई मध्यनजर गर्दै प्रशासनले सुरक्षा रणनीति सोही अनुसार बनाएको छ ।
Categorized in राजनीति

