STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बागलुङलाई माछामा आत्मनिर्भर बनाउँछु ः पुन

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २, बिहिबार

बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–८ लेखानीका ५७ वर्षीय लक्ष्मण पुनको जाँगर हेर्दा युवा जस्तै लाग्छ । लामो समय विदेश बसेर फर्किनुभएका पुनको यतिबेला परिवारसँग बस्ने र आराम गर्ने समय हो तर, उहाँ दिनभर आफ्नो फार्ममा रहेका माछाको स्याहारसुसार गर्दै दिन बिताउनुहुन्छ । बागलुङ जिल्लाको सदरमुकाम रामरेखामा बस्दै आउनुभएका पुन कृषि कर्मका लागि जन्मथलो लेखानी फर्कने सोचमा हुनुहुन्थ्यो तर, उहाँ पारिवारिक कारण गाउँ फर्कन नसके पनि बागलुङ बजार नजीकै बागलुङ नगरपालिका–४ स्थित कालीगण्डकीको किनार निरयघाटमा दुई वर्ष अघि ‘कालीगण्डकी माछा तथा कृषि फार्म’ स्थापना गरी व्यावसायिक रुपमा माछापालन गर्नुभयो । झण्डै १३ वर्षको दक्षिण कोरिया बसाइपछि दश वर्ष अघि नेपाल फर्कनुभएका पुनले रु ५० लाखको लागतमा कालीगण्डकी नदी किनारामा माछापालन शुरु गर्नुभएको थियो । अहिले उहाँको लगानी एक करोड रुपैयाँ पुगिसकेको छ । कमजोर आर्थिक अवस्थाका कारण वैदेशिक रोजगारीमा गएको भए पनि विदेशबाट फर्केर कृषि पेशा गर्ने सोच पहिल्यैदेखि भएको पुन बताउनुहुन्छ । देशमै केही उदाहरणीय काम गर्छु भनेर बुढेसकालमा कृषि पेशामा होमिएको उहाँ बताउनुहुन्छ । “फार्म व्यवस्थापन गर्नै एक वर्ष लाग्यो,” पुनले भन्नुभयो – “एक वर्ष अगाडि पोखराबाट ल्याएर १५ हजार माछाका भुरा हालेको छु । अहिलेदेखि बिक्री गर्न थालेको छु ।” पुनले कालीगण्डकी नदी किनारको २५ रोपनी जग्गा भाडामा लिएर माछापालनसँगै अन्य कृषिसँग आबद्ध व्यवसाय थाल्नुभएको हो । पुनको फार्ममा माछापालन बाहेक बोइलर तथा कोइलर कुखुरापालन, खरी जातका बाख्रापालन तथा हाँसपालनसमेत हुन्छ । उहाँले पाँच रोपनी जग्गामा टमाटर, काउली, बन्दा, मूला, गाँजर, सिमी, बोडीलगायतका तरकारीको व्यावसायिक खेतीबाट फार्म शुरु गर्नुभएको हो । “ठूलै महत्वाकाँक्षी लक्ष्य राखेर फार्म खोलेको हुँ जुन फार्म हेरेर बेरोजगार युवा कृषि कर्मतर्फ आकर्षित होऊँन,” उहाँले भन्नुभयो – “जिल्लाकै नमूना कृषि फार्म बनाउने लक्ष्य छ ।” छ ओटा पोखरीमा ग्रास, कमन, रहु, नैनी र सिल्भर कार्प जातका माछापालन गर्नुभएका पुनले एक याममा पन्ध्र हजार केजी माछा उत्पादन गर्ने लक्ष्य राख्नुभएको छ । पुनका अनुसार तीन याममा मात्रै सोचे जस्तो माछा उत्पादन भएमा लगानी उठ्छ । नदी किनारामा माछापालन व्यवसायको ठूलो सम्भावना देखेरै लगानी गरेको बताउने थापाले फार्ममा दुई करोडसम्म लगानी गर्ने योजना रहेको सुनाउनुहन्छ । “पोखरीमै पानीको मूल छ, अनवरत रुपमा हावा चलिरहन्छ, यस्तो वातावरणमा माछाको विकास राम्रो हुने विज्ञहरुको सुझावका आधारमा जिल्लालाई माछामा आत्मनिर्भर गराउने उद्देश्यसहित माछापालनमा आएको हुँ,” पुनले भन्नुभयो । निरन्तरको मेहनतपछि मात्र सफल हुन्छ भन्ने कोरियाबाट सिक्नुभएका थापाको पेशामा उहाँका छोरासमेत संलग्न छ । “एउटा छोरा छ, विदेश जान्छु भन्दै थियो, मैले यही पेशामा आवद्ध बनाएँ,” पुनले भन्नुभयो – ‘सकुञ्जेल गर्छु नसके छोराले गर्ला ।’ पुनले पाल्नुभएका पाँच प्रजातिका माछाको बजार मूल्य प्रतिकिलो ५०० रुपैयाँ रहेको छ । जिल्लामा खासै माछाको उत्पादन छैन । सामान्य उत्पादन स्थानीय स्तरमै खपत हुने हुनाले ठूलो परिणाममा जिल्लामा माछा भित्रने गरेको छ । आफूले उत्पादन गरेको माछा बागलुङ बजारलाई पुग्ने उहाँको दावी छ । यति ठूलो सङ्ख्यामा जिल्लामा माछा कसैले नपालेको उहाँ बताउनुहुन्छ । उहाँको फार्म अवलोकनका लागि कृषकहरु आउने गरेका छन् । कृषि पेशा अपनाउनेहरुलाई आफूले सल्लाह सुझाव दिँदै आएको उहाँ बताउनुहुन्छ । उहाँले भाडामा लिएको २५ रोपनी जग्गाको मासिक रु २५ हजार भाडा तिर्दै आउनुभएको छ । लक्ष्य अनुरुपका माछा उत्पादन भएको खण्डमा बागलुङ जिल्ला छिट्टै माछामा आत्मनिर्भर हुने थापाको दावी रहेको छ । उहाँ माछापालन व्यवसायमा चुनौती र सम्भावना दुवै रहेको मान्नुहुन्छ । प्राविधिक रुपमा माछापालन गर्न कठिन रहेको उहाँको अनुभव छ । “केही प्राविधिक समस्या परिरहन्छ, सम्बन्धित निकायको सहयोग छैन,” उहाँले भन्नभयो – “फार्ममा राज्यको दृष्टि पुगे आफ्नो लक्ष्यप्रति अझै दृढ बन्न प्रेरणा मिल्नेछ,” आधुनिक तरीकाबाट कृषि कर्म गर्न सके नेपालमा पनि दक्षिण कोरियाले जस्तै उत्पादन गर्न सक्ने विश्वास पुनको छ । उहाँले युवा जमातलाई स्वदेशमै फरक शैलीमा कृषि व्यवसाय गरी आत्मनिर्भर हुन सुझाव दिनुहुन्छ । दूधमा आत्मनिर्भर बागलुङ जिल्ला अण्डा, मासुलगायतका उपभोय वस्तुमा समेत आत्मर्निभर हुने चरणमा रहेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बागलुङको निष्कर्ष छ ।
Categorized in राष्ट्रिय