STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बाढीबाट ८१ लाख मूल्यको बिरुवा नष्ट

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण ३, शुक्रबार

अविरल वर्षाका कारण महोत्तरीमा आएको बाढीबाट रु ८१ लाख १४ हजार ८०० मूल्य बराबरको बिरुवा नष्ट भएको छ । डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख हेमन्तप्रसाद साहका अनुसार जिल्लामा बाढीले विभिन्न नर्सरीमा लगाइएका छ लाख ५२ हजार ९५० बिरुवा नष्ट भएको हो । रातु, विग्ही, मरहा, जङ्घा, अङ्कुशी नदीमा आएको बाढीले जलेश्वर नगरपालिका–९, बलवा, भङ्गहा नगरपालिका–४, जलेश्वर नगरपालिका–४ मा रहेका वन नर्सरीमा बिरुवा एकवर्षे, दुईवर्षे र बहुद्देश्य रूख तथा काष्ठ प्रजातिका उत्पादित बिरुवा हिलो, लेदो र माटोले क्षति पु¥याएको डिभिजन वन कार्यालयका प्रमुख साहले बताउनुभयो । डिभिजन वन कार्यालयका अनुसार बलवा र जलेश्वर नपा–९ मा रहेका नर्सरीमा कैशिया सेमिया, लोल्डमोहर, ऋमला, सिरिस, साल, सतिसाल, कल्की, काइयो, महोगनी, अर्जुन, बाँस, जामुन, नीम, टिक प्रजातिका गरी ४० लाख मूल्य बराबरको दुई लाख सात हजार ५० नष्ट भएको हो । त्यस्तै सोही नर्सरीमा रहेका मसला, सतिसाल, गम्हारी, इपिल, सिसौ, सिरिस, कैसिया सेमिया, राजवृक्ष, साल, बेल, जामुन, सहिजन प्रजातिका गरी नौ लाख मूल्य बराबरको एक लाख एक हजार बिरुवा नष्ट भएका छन् । त्यस्तै डिभिजन प्रमुख साहका अनुसार सोही नर्सरीमा दुईवर्षे बिरुवाअन्तर्गत साल, गोल्डमोहर, रक्तचन्दन, महोगनी, कैसिया सेमिया, सतिसाल, बोतलब्रस, बाँस, बडहर, अर्जुन, जामुन, नीम, कदम, सतिसाल, टिक प्रजातिका गरी दुई लाख मूल्य बराबरको एक लाख ४०० बिरुवा डुबानमा परी नष्ट भएका छन् । त्यस्तै भङ्गहा नपा–४ मा रहेका नर्सरीमा इपिल, टाँकी, साल, खयर प्रजातिका गरी एक लाख ४४ हजार मूल्य बराबरका १६ हजार बिरुवा नष्ट भएका छन् । त्यस्तै सोही वडामा रहेका नर्सरीमा टाँकी, खमारी, साल, महोगनी, बबुर, केसियासेमिया, इपिल, सिमल, कराउनियालगायतका रूख र काष्ठ प्रजातिका बहुद्देश्य बिरुवा करीब सात लाख ७५ हजार ८०० मूल्य बराबरको ८६ हजार २०० बिरुवा डुबानमा परी नष्ट भएको हो । त्यस्तै बलवा र जलेश्वर नपा–४ मा रहेको नर्सरीमा टिक, अशोक, कटहर, कदमलगायतका दुई लाख ९५ हजार मूल्य बराबरको १४ हजार ५०० बिरुवा डुबानमा परी नष्ट भएको डिभिजन वन कार्यालय महोत्तरीले जनाएको छ ।
Categorized in राष्ट्रिय