STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बाबुको पुख्र्यौली पेशा अपनाउँदै पूर्णलक्ष्मी

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ २३, सोमबार

“बाबुले जीवनभर अपनाएको पुख्र्यौली पेशा आज मेरो दिनचर्याको एक माध्यम बन्नपुग्यो”, ४० वर्षअघि हाल ललितपुर महानरपालिका–२१ बुङमतीमा जन्मिनुभएकी पूर्णलक्ष्मी शाक्यले आफूले काठमा कुँदेका भगवान्का मूर्ति देखाउँदै भन्नुभयो । “माइतीमा छँदा बेलाबखत बाबुले गर्नुभएको काम हेर्ने गर्थेँ । उहाँले कँुदेका बुट्टाहरु मलाई ज्यादै मनपथ्र्यो । कहिलेकाहीँ खोइ त बाबा म पनि बुट्टा बनाउँछु भनेर बाबुलाई जिस्क्याउँदा जिस्क्याउँदै काष्ठकला निर्माणको काम थाहै नभई सिकेँछु” पूर्णलक्ष्मीले भन्नुभयो, “किन हो किन यस पेशाप्रति मेरो आकर्षण बढ्दा बीचमै अध्ययन छाडेर २२ वर्षदेखि यसमा लागिपरेको छु ।” बुङमतीमा काठबाट भगवान्को मूर्ति निर्माण गर्ने पहिलो महिलाभन्दा पूर्णलक्ष्मीको नाम नै सुन्न पाइन्छ । उहाँको यो सिर्जनालाई आज बुङमतीका कयौँ व्यक्तिले पनि चित्रण गर्न सकेका छैनन् । आफ्नो कला स्वदेशी व्यक्तिले मात्रै होइन, अझ बढी विदेशीले मन पराउने गरेको उहाँ बताउनुहुन्छ । पूर्णलक्ष्मीद्वारा निर्मित मूर्ति स्वदेशीले केवल घर सजाउन खरीद गर्छन् । विदेशीले भने उनीहरुका मुलुकमा लगेर नेपाली महिलाले गरेको काष्ठकलाको प्रदर्शनी उनीहरुका महिलालाई देखाउन खरीद गर्ने गरेका उहाँले बताउनुभयो । पूर्णलक्ष्मीले भगवान्को मूर्ति बनाउन कपुरको काठ मात्र प्रयोग गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “कपुरको काठमा काम गर्न नरम र सजिलो हुन्छ । विदेशी नागरिकले कपुरको काठबाट बनेका सामान अन्यभन्दा बढी नै खरीद गर्ने गर्छन् ।” हरेक मानिसले आफ्नो जीवन चलाउन एउटा पेशा त अवश्य नै अपनाउनुपर्छ भन्ने भावना बोक्नुभएकी पूर्णलक्ष्मीले काठ कुँदेर बुद्ध, गणेश, शिव, पार्वती र लक्ष्मी सबै देवी देवताका मूर्ति बनाउनुहुन्छ । भगवान्को मूर्ति मात्र होइन, काठको हात्ती, घोडा, किरिङ र टाई निर्माण गर्नुको साथै मकैका खोस्टाबाट टोपी, कुर्ची र खेलौना बनाई व्यापार गर्न शुरु गरेको उहाँले बताउनुभयो । भूकम्पअघि पूर्णलक्ष्मीको दिनचर्या काठको मूर्ति व्यापार गरेर चल्थ्यो । भूकम्पपछि बुङमतीमा बढी नै क्षति भएका कारण कम विदेशी त्यहाँ आउने गरेको उहाँको बुझाइ छ । काठको मूर्तिमा विदेशीको आकर्षण अलि घटेपछि हाल पूर्णलक्ष्मी घरमा प्रयोग गरिने झ््यालढोका बनाउने काममा पनि सक्रिय देखिनुहुन्छ । पाटनबाट काठ किनेर लगी काम गर्ने पूर्णलक्ष्मीले यसै पेशाबाट चार जनाको परिवार धानिएको जानकारी दिनुभयो । “जति नै कमाइ भएन भने पनि वर्षको रु सातदेखि आठ लाख फाइदा हुन्छ”, पूर्णलक्ष्मीले भन्नुभयो । हस्तकला निर्माण महासङ्घले विभिन्न प्रदर्शनी वा मेलामा पूर्णलक्ष्मीलाई बोलाउने गरेको छ । विदेशीले उहाँको सामान खरीद गर्दा स्वदेशीको तुलनामा रु ५०० देखि एक हजार बढी तिर्ने गरेकामा पूर्णलक्ष्मीले खुशी व्यक्त गर्नुभयो । एक जागरुक महिला भएर घर र पत्नीमा मात्र सीमित हुनुहुन्न भन्ने विचार बोक्नुभएकी पूर्णलक्ष्मीले सानै उमेरदेखि बाबुले गरेको पेशा सम्हाल्दा आज एक मात्र काठको मूर्ति निर्माण गर्ने महिलाको रूपमा परिचित हुनुहुन्छ । पूर्णलक्ष्मीको प्रचारप्रसार आज ललितपुरको निकै ठाउँमा सुनिन्छ । आफ्नो ज्यानले सकुञ्जेल काष्ठकला कुँद्ने अठोट पूर्णलक्ष्मीमा छ । ‘महिला भएर पनि यस्तो पारखी’ भनी समुदायमा सबैले तारिफ गर्ने गरेका कारण पूर्णलक्ष्मी आफ्नो कामप्रति ज्यादै सन्तुष्ट देखिनुहुन्छ । “बेलाबखत माग भएअनुसार मैले विदेशी नागरिकलाई काष्ठकला निर्माणको तालीम दिने गरेकी छु”, उहाँले भन्नुभयो । व्यापारी वा ग्राहक जोसुकैले उहाँसँग भगवान्को मूर्ति बनाउन आग्रह गर्नुपरेमा त्यसको आकार दिनुपर्ने हुन्छ । पहिला माग भएअनुसार मूर्तिको आकार हेर्ने र त्यसलाई कलामा ढाल्ने कला पूर्णलक्ष्मीमा भएको उहाँ जानकारी दिनुहुन्छ । बुङमतीका करीब १४÷१५ महिलाले काठको काम गर्छन् । पूर्णलक्ष्मीको जस्तो कला अरु कोही महिलामा नभएको स्थानीयवासी बताउँछन् । अन्य महिलाले केवल काठमा बुट्टा कुँद्ने र चिल्याउने काम मात्र गर्छन् ।
Categorized in राष्ट्रिय