STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बालुवा पेलेर तेल निस्किनु र ओली सुध्रिनु एउटै : माधव नेपाल

Janjati Khabar – Janjati Khabar | २०७७ फाल्गुण १५, शनिबार

काठमाडाैँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले बालुवा पेलेर तेल निस्किनु र केपी ओली सुध्रिनु एउटै भएको टिप्पणी गरेका छन्  ।

शनिबार काठमाडौंमा आयोजित नेकपा प्रचण्ड–माधव समूह निकट शिक्षकहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले बामदेव गौतम अहिले पनि केपी ओलीलाई सुधार्ने कोसिस गरिरहनु भएको बताएका छन् ।

कुनैबेला स्थायी कमिटी बैठकमा ४० मिनेट बोलेर केपी ओलीको राजीनामा सबैभन्दा पहिला गौतमले नै मागेकाे उल्लेख गर्दै अहिले फेरी ओलीलाई सुधार्न उनले नै कोसिस गरिरहेको तर आफुले बालुवा पेलेर तेल निस्किदैन तरपनि कोसिस गर्नुस् भनेको बताए । उनले भने ‘दुई तिहाईको संख्यामा भएको ठाउँमा उहाँले तुरुन्तै भङ्ग गरिदिनुभयो । किन भङ्ग गरिदिनुभयो भने मलाई प्रधानमन्त्रीबाट हटाउने भए भनेर । यो प्रधानमन्त्री हटाउने को हो थाहा छ ? बामदेव गौतम हो । फेरी उहाँ (प्रचण्ड)लाई दोश जान्छ सबैभन्दा बढी । होइन, साँचो कुरा म तपाईहरुलाई बताउँछु । यो पहिलो प्रस्ताव राख्ने केपी ओली मान्छे खराब मान्छे हुन भनेर स्थायी कमिटीको बैठकमा भाषण गर्नुभएको छ बामदेवले । ४० मिनेट भाषण गर्नुभयो केपी ओली जस्तो रद्दी मान्छे धर्तिमा कोहीपनि छैन भनेर । अब अहिले पनि उहाँ फेरी कोसिस गर्दै हुनुहुन्छ । केपीलाई सुधार्न । अब उहाँ गर्नुहोस मैले भनेको छु यो बालुवा पेलेर तेल निस्किदैन कोसिस गर्नुहोस ।’

अध्यक्ष नेपालले अव केपी ओलीसँग एकताको कुनै सम्भावना नभको पनि स्पष्ट पारेका छन् । बरु ओली प्रवृतिको विरुद्धको आन्दोलनमा सहभागी भएकाहरुबीच सहकार्य गरेर अगाडि बढ्ने बताए ।

उनले भने ‘केपी ओलीसँगको एकताको कुनै सम्भावना छैन । कुनै भ्रममा नपर्नुस । केपी ओलीका मानिसहरुको आँखामा बाम लगाएर निकालेको आँशुको कुनै अर्थ छैन । ख्याल गर्नुहोला । बाम लगाएर आँशु निकाल्छन र भित्र कोठामा गएर मुसुमुसु हाँस्छन यिनलाई मुर्ख बनाएर पठाइयो भन्छन । त्यसो भएकोले तपाईहरु यस्ता कुराको भ्रममा नपर्नुस । अब हामी के गरिरहेका छौं भन्दा सबै जो आन्दोलनमा सहभागि भएकाहरुलाई साथमा लिएर बरु जाऔं संयुक्त सरकार बनाऔं भनिरहेका छौं ।’

अहिले प्रतिनिधि सभा पुनस्थापना भएपनि पुरै लडाई जित्न बाँकी रहेको पनि अध्यक्ष नेपालले बताए । उनले भने ‘एउटा लडाई जित्यौं, सिङ्गो लडाई जित्न बाँकी छ । एउटा लडाई जितेका छौं अर्को लडाई केपी ओलीलाई प्रधानमन्त्री पदबाट नहटाएसम्म लडाई गर्नुछ ।’

केपी ओलीलाई पूर्वएमालेको कुनै मायाँ नभएको पनि अध्यक्ष नेपालले बताएका छन्। ओलीले अहिले मदनभण्डारी फाउण्डेसनको गुट चलाएको आरोप समेत अध्यक्ष नेपालले लगाए । उनले भने ‘केपी ओलीलाई एमालेको कुनै माया छैन । कम्युनिष्ट पार्टीको कुनै माया छैन । केपी ओली भनेको मदन भण्डारी फाउण्डेसन गुटको नेता हुन् ।’

बालुवाटारमा बैठक हुँदा उपस्थित नहुने ओली अहिले फुर्तिका साथ देशभर दौडिरहेको समेत बताए । यसबाट पार्टीप्रति ओलीको इमानदारिता थिएन भन्ने स्पष्ट भएको पनि अध्यक्ष नेपालले बताए ।

उनले भने ‘केपी ओली यो तरिकाले जाँदा पार्टीभित्र उहाँले छलफल बहस बन्द गर्नुभयो । बैठक त्यहिं छ बालुवाटारमा, बालुवाटार बाहिर कहिं नजाने मान्छे अहिले हेर्नुहोस त फुर्ति कहिले कहाँ पुग्या छ कहिले कहाँ पुग्या छ । बैठक भनेपछि धुम्बाराहीमा नआउने मान्छे अहिले त कुद्या छ कुद्या छ । भनेपछि पार्टीलाई कति मर्यादित ठानेको । आफ्नो पुरै पछिपछि लाग्नुपर्छ भन्ने प्रवृतिको कति पक्षपोशण भएको कुरालाई पुष्टि गर्दैन त्यसले । त्यसैगरी त्यहिं निवास छ, बेडरुम छ, त्यहिं बैठक बसेको छ बैठकमै नआउने । बैठकमा ल्याउनका लागि प्रचण्डले बैठक छोडेर जाने फेरी, कहिलेकाहिं हामीलाई पनि सँगै जाउँन भन्ने । एउटाको शक्तिले पुगेन र दुईवटाले सकिन्छ की भनेर । यस्तो ज्याद्रो मान्छेलाई हामीले चलाउन सकेनौं ।’

अहिले केपी ओलीलाई विदा गरे जस्तै ओली प्रवृतिलाई पनि सबैले त्याग्नुपर्ने बताए। अहिले सबै क्षेत्रबाट नेताहरुलाई ओली प्रवृति त्यागेर अगाडि बढ्न सुझाव आएको पनि अध्यक्ष नेपालले बताए। उनले भने ‘केपी ओलीलाई विदा गर्यौं । केपी प्रवृतिलाई हामीले विदा गर्ने की नगर्ने ? अहिलेका नेताहरुलाई चेतना भया भनेर हामीलाई पनि भन्ने गर्नुहुन्छ । पत्रिकामा पनि पढ्दै थिएँ । होस गर्नुहोस है तपाईहरुमा पनि केपी प्रवृति नउदाओस । हामी अवश्य पनि सतर्क छौं ।’

Categorized in राजनीति