ब्युताइँदै लोकभजन
Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण १३, मंगलबार
बागलुङ र पर्वतमा यसै हप्ता लोकभजन प्रतियोगिता भए । महाशिवरात्रिमा बागलुङ, काठेखोला गाउँपालिका–५ बिहुँस्थित त्रिपुरेश्वर महादेव मन्दिर परिसर भजनमय बन्यो ।
पर्वतको रेडियो दिदीबहिनीले जलजला गाउँपालिकामा आयोजना गरेको महिला महोत्सवमा लोकभजन प्रतियोगिताले आकर्षण थप्यो । दुवै प्रतियोगिताका विजयी समूहले आकर्षक राशिको पुरस्कार थापे । त्रिपुरेश्वर मन्दिरमा मनाइने शिवरात्रि पर्व यसपटक पूजाआजामा मात्र सीमित रहेन । दोस्रोपटक आयोजित राष्ट्रिय लोकभजन प्रतियोगिताले नयाँ रौनक थप्यो । मेला, महोत्सवकै झल्को दिने प्रतियोगितामा भक्तजन÷दर्शक खुलेर नाचे, रमाए ।
सो मन्दिरमा गत वर्ष बिहुँकोट खेलकूद तथा समाज विकास केन्द्रले पहिलोपटक राष्ट्रिय लोकभजन प्रतियोगिता राखेको थियो । यसवर्ष पनि बागलुङ, पर्वत र म्याग्दीका सात समूहले भाग लिए । प्रतियोगितामा पहिलो हुने अमर मावि बिहुँकोटले नगद रु ५१ हजार, दोस्रो स्थान प्राप्त गर्ने जैमिनी सङ्कीर्तन समूहले रु ३१ हजार, तेस्रो हुने कालिका भगवती गुठी बागलुङले रु २१ हजार र सान्त्वना स्थान प्राप्त गर्ने लामखुङ भजन समूह बिहुँले रु ११ हजार पुरस्कार प्राप्त ग¥यो ।
महिला महोत्सवमा आयोजित लोकभजन प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने समूहले क्रमशः रु १५ हजार, १० हजार र पाँच हजार प्राप्त ग¥यो । यसरी कुनै ताका मठमन्दिर, पूजापाठ र कर्मकाण्डमा खुम्चिएको लोकभजनले मेला तथा महोत्सवमा ठाउँ लिँदैछ, बिस्तारै जाग्दैछ । “लोकभजनमा एक किसिमको जागरण आएको छ, प्रतियोगिताले पनि यसको उत्थान र जगेर्नामा टेवा पु¥याएको छ”, जैमिनी सङ्कीर्तन समूहका अध्यक्ष टेकबहादुर क्षेत्री ‘सङ्गम’ले भन्नुभयो । उहाँको समूहले अहिलेसम्म थुप्रै प्रतियोगितामा भाग लिइसकेको छ ।
दुई वर्षअघि कास्की, पोखराको लामातालमा भएको लोकभजन प्रतियोगितामा प्रथम भएको उक्त समूहले नगद रु ५७ हजार पुरस्कार पाएको थियो । पोखराकै चाउथेमा भएको अर्को प्रतियोगितामा द्वितीय स्थान प्राप्त गरेको अध्यक्ष क्षेत्रीले बताउनुभयो । अघिल्लो वर्षको चैत्राष्टमी पर्वका अवसरमा बागलुङ कालिका भगवती गुठीले आयोजना गरेको लोकभजन प्रतियोगितामा पनि उक्त समूह प्रथम हुन सफल भएको थियो ।
विसं २०७२ मा स्थापित समूहले लोकभजनमा बेग्लै चिनारी बनाएको छ । भजन संस्कृति संरक्षणको उद्देश्यले प्रतियोगिता राखिएको त्रिपुरेश्वर महादेव मन्दिरका उपाध्यक्ष गौरीशङ्क सुवेदीले बताउनुभयो । “पश्चिमा संस्कृति हाबी भइरहेका बेला हाम्रो मौलिक संस्कृतिका रुपमा रहेको लोकभजन हराउने खतरा छ”, उहाँले भन्नुभयो, “यसको जगेर्नाका लागि गत वर्षदेखि प्रतियोगिता गर्दै आएका छौँ ।”
यसपालि आयोजित प्रतियोगिताले पनि भक्तजन र दर्शकको मन जितेको आयोजकको दाबी छ । प्रतियोगिता हेर्न छिमेकी गाउँ र जिल्लाबाट समेत सयौँ मानिस उपस्थित थिए । प्रतियोगितामा सहभागी भजन समूहले गायनसँगै भगवान् शिव, कृष्ण चरित्रदेखि रामायण, महाभारत आदिका कथाभावलाई अभिनयमा उतारेका थिए ।
धर्म, संस्कृतिसँगै सामाजिक विषयलाई उठान गरेर गाउने भजन समूह पनि उत्तिकै थिए । मौलिक संस्कृतिको ज्ञान र शिल्प नयाँ पुस्तामाझ पु¥याउन पनि यस किसिमका प्रतियोगिताले सघाउने आयोजकको विश्वास छ । भजन प्रतियोगिताले परम्परा र संस्कृतिको महत्व झन् बढाएको गायक एवं राष्ट्रिय भजन चुट्का समितिका अध्यक्ष प्रजापति पराजुलीले बताउनुभयो । उहाँले पछिल्लो समय अन्य विधाका कलाकार पनि भजनमा आकर्षित भएको उल्लेख गर्नुभयो । “हामीले मौलिकता जोगाउनुपर्छ”, उहाँले भन्नुभयो, “लोकभजन हाम्रो सभ्यता र संस्कृतिसँग जोडिएको विषय हो ।” पछिल्लो समय देशका विभिन्न ठाउँमा भएका भजन प्रतियोगिताले नयाँ जागरण ल्याएको छ ।
बागलुङ कालिका भगवती गुठीले पनि लोकभजन संरक्षणमा अग्रसरता लिएको छ । मन्दिरमा हरेक बिहान भजनकीर्तन हुन्छ । भजनकै व्यवस्थापनमा वार्षिक करीब रु दुई लाख ५० हजार खर्च हुने गरेको गुठीका अध्यक्ष राजु खड्काले बताउनुभयो । “चैत्राष्टमी पर्वमा गुठीले गर्ने प्रतियोगितालाई थप व्यवस्थित र विस्तार गर्दैछौँ”, उहाँले भन्नुभयो ।
गुठीकै लगानीमा ‘जयजय बागलुङ कालिका।।।’ भजन ‘एल्बम’ पनि प्रकाशित छ । अध्यक्ष खड्काले लोकभजनलाई पनि व्यावसायिक बनाउन आवश्यक रहेको धारणा राख्नुभयो । भजनले आत्मिक शान्ति दिने र मानिसलाई सत्मार्गमा लाग्न प्रेरित गर्ने उहाँको भनाइ छ । देवीदेउताको गुणगान र वर्णन गरेर भजन गाउने गरिन्छ । लोकभजनमा बढीजसो ईश्वरीय महिमा र पौराणिक कथा अभिव्यक्त हुने कलाकार एवं जैमिनी सङ्कीर्तन समूहका अध्यक्ष क्षेत्रीको बताउनुभयो । “लोकभजनको झनै महत्व छ, यो जनजिब्रोमा प्रचलित मौलिक संस्कृति हो”, उहाँले भन्नुभयो ।
Categorized in राष्ट्रिय


